सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसीबी नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति गोलबजार नगरपालिका–१, बलडारा मुक्सारस्थित सहदेव यादवको जग्गामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गोलबजारबाट खटिएको संयुक्त टोलीले उत्खननमा प्रयोग भइरहेका ६ वटा टिपर र एउटा जेसीबी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टोली घटनास्थलमा पुग्नासाथ टिपरका चालकहरू फरार भएका थिए। उनीहरूको पहिचान गरी खोजतलास भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालकाका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन सशस्त्र प्रहरी बेस क्याम्प सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीले नियन्त्रणमा लिएका टिपरहरूमा को १ ख ४९७५, प्र।२–०१–००१ क ०१७०, मधेस प्रदेश ०१–००१ क ०२८५, भे १ क ९५०, मधेस प्रदेश ०३–००१ क ३०२८, मधेस प्रदेश ०३–००१ क ३३७५ र ज १ क ७५२ नम्बरका रहेका छन्।
अवैध उत्खननमा संलग्न व्यक्तिहरूको पहिचान तथा घटनाको थप विवरणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।