निरन्तरको वर्षाका कारण तरकारीबालीमा ठूलो क्षति भएपछि पर्साको ठोरी गाउँपालिका–३, बुद्धनगरका व्यावसायिक किसान विष्णु घिमिरे चिन्तित बनेका छन्। वर्षौंको मेहनत र लाखौँ रुपैयाँ लगानी गरेर लगाएको काउली, गोलभेंडा, काँक्रोलगायतका तरकारीबालीमा क्षति पुगेपछि उनलाई लगानी कसरी उठाउने भन्ने चिन्ताले सताएको छ ।
एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका घिमिरेले प्राकृतिक विपत्तिका कारण बालीमा क्षति बेहोर्नुपरे पनि पर्याप्त सरकारी सहयोग नपाएको गुनासो गरेका छन् । उनका अनुसार खेती गर्दा मौसमको जोखिम र उत्पादन भएपछि बजारको अनिश्चितताले किसानलाई थप समस्यामा पार्ने गरेको छ ।
कृषकले महँगो बीउ, मल, विषादी, सिँचाइ, मजदुर र कृषि उपकरणमा ठूलो रकम खर्च गर्नुपर्छ। तर, कहिले खडेरी, कहिले अतिवृष्टि, बाढी, डुबान तथा रोगकीराको प्रकोपले उत्पादन प्रभावित हुने गरेको छ। बाली जोगाउन सफल भए पनि बजारमा उचित मूल्य नपाउँदा किसानले लगानीअनुसारको प्रतिफल पाउन सकेका छैनन् ।
घिमिरेले अनुदान, उन्नत बीउबिजन, कृषि प्राविधिक सेवा, तालिम तथा प्राकृतिक विपत्तिबाट क्षति पुगेको बालीको राहतमा वास्तविक किसानको पहुँच सहज हुन नसकेको बताएका छन् ।
“खेती गर्दा मौसमको मार, उत्पादन भएपछि बजारको मार । कृषकको पीडा आखिर कसले बुझिदिने?” भन्ने उनको प्रश्नले किसानले भोगिरहेको समस्यालाई उजागर गरेको छ ।
राहतदेखि बजार व्यवस्थापनसम्म स्थानीय सरकारको भूमिका
वर्षाका कारण भएको कृषि क्षतिको विवरण सङ्कलन गरी प्रभावित किसानलाई राहत उपलब्ध गराउन ठोरी गाउँपालिकाले पहल गर्नुपर्ने देखिएको छ। गाउँपालिकाको कृषि शाखा र सम्बन्धित वडा कार्यालयले प्रभावित खेतको स्थलगत अनुगमन गरी क्षतिको यथार्थ विवरण सङ्कलन गर्न तथा आवश्यक सहयोगका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता छ ।
त्यस्तै, व्यावसायिक खेती गर्दै आएका किसानलाई उन्नत बीउबिजन, कृषि प्राविधिक सेवा, तालिम र उत्पादन लागत घटाउने कार्यक्रममार्फत सहयोग गर्नुपर्ने देखिन्छ। कृषि अनुदान वास्तविक किसानसम्म पुगेको छ कि छैन भन्ने विषयमा पनि समीक्षा आवश्यक छ ।
ठोरीमा उत्पादित तरकारीको बिक्री र उचित मूल्य सुनिश्चित गर्नु अर्को चुनौती हो। किसानले उत्पादन गरेको तरकारी सहज रूपमा बिक्री गर्न कृषि उपज सङ्कलन केन्द्र, व्यवस्थित हाटबजार, भण्डारण तथा शीतभण्डारको व्यवस्था गर्न सके किसानलाई राहत पुग्न सक्छ। स्थानीय विद्यालय, स्वास्थ्य संस्था, होटल तथा अन्य संस्थासँग समन्वय गरी किसानबाटै कृषि उपज खरिद गर्ने प्रणाली विकास गर्न पनि गाउँपालिकाले पहल गर्न सक्छ ।
कृषि बीमामा किसानको पहुँच विस्तार, मौसम तथा रोगकीरासम्बन्धी पूर्वसूचना र खेतमै पुगेर प्राविधिक सेवा दिने व्यवस्था पनि उत्तिकै आवश्यक छन् ।
प्राकृतिक विपत्तिबाट क्षति बेहोरेका किसानलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उत्पादनको उचित मूल्य र बजार सुनिश्चित गर्ने दीर्घकालीन योजना आवश्यक छ। किसानको मेहनत र लगानीमा निर्भर ठोरीको कृषि क्षेत्रलाई संरक्षण गर्न गाउँपालिकाले घोषणा गरेका कार्यक्रम र बजेटको प्रभाव किसानको खेतसम्म पुग्नुपर्ने देखिन्छ ।
अब प्रश्न उठ्छ—वर्षाले बाली नष्ट हुँदा किसानले राहत कहाँबाट पाउने र उत्पादन भएपछि उचित मूल्यमा तरकारी बेच्ने व्यवस्था कसले गर्ने? ठोरी गाउँपालिकाले किसानका यी समस्याको समाधानका लागि कस्तो कदम चाल्छ, त्यसको प्रतीक्षा प्रभावित किसानले गरिरहेका छन् ।