धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सोनारपट्टी दाहा चोकमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् ।
धनुषा प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ः१० बजे रहिमपथ नजिकै भएको घटनामा स्थानीय २४ वर्षीय आमिन साफी र २५ वर्षीय इम्तियाज राइनमाथि धारिलो हतियार प्रहार भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पुरानो रिसइबीका कारण जनकपुरधाम–५ कै करिब २२ वर्षीय मोहम्मद इर्साद खानले दुवै युवकको छाती तथा पेटमा चक्कु प्रहार गरेको आरोप छ ।
घटनाको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो। अस्पतालमा चिकित्सकले साँझ ७ः१५ बजे जाँच गर्दा आमिन साफीको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका इम्तियाज राइनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मोहम्मद इर्साद खानलाई नियन्त्रणमा लिएको छ। धनुषा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनाको वास्तविक कारण, घटनाक्रम तथा प्रयोग गरिएको हतियारबारे अनुसन्धान अघि बढाएको जनाएको छ। घटनापछि जनकपुरधामको अवस्था तनावग्रस्त बनेको छ ।