नवरात्रको अवसरमा विश्व हिन्दू परिषद्ले आगामी आइतबार वीरगञ्जमा चुनरी यात्रा आयोजना गर्ने भएको छ । शक्तिस्वरूपा देवीका आकर्षक झाँकीसहित आयोजना हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
हिन्दू पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारका अनुसार घटस्थापनाका दिन अपराह्न माईस्थान मन्दिरको प्राङ्गणबाट यात्रा सुरु हुनेछ । यात्रामा करिब १० हजार महिला तथा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
चुनरी यात्रामा विभिन्न सामाजिक सङ्घसंस्थाको समेत सहभागिता रहने जनाइएको छ । नवरात्रको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यात्रामा भक्तजनको उल्लेख्य सहभागिता रहने आयोजकको विश्वास छ ।