जनकपुरधाम । विजया दशमी नजिकिएसँगै जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ । दशैँमा हुने विशेष पूजाआराधना तथा भक्तजनको भीडलाई ध्यानमा राख्दै मन्दिरमा सजावटसँगै सुरक्षा र दर्शन व्यवस्थापनको तयारीसमेत तीव्र पारिएको छ ।
मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राजदेवी मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म रङ्गीन बत्ती, फूलमाला र तोरणले सजाइएको छ । राजा जनककी कुलदेवीका रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा प्रत्येक वर्ष दशैँका अवसरमा विशेष पूजाआराधना हुने गर्छ ।
मन्दिरलाई आकर्षक बनाउन भारतबाट सजावटी सामग्री ल्याएर प्रयोग गरिएको पूजा व्यवस्थापन समितिले जनाएको छ । पूजाआराधनासँगै विभिन्न सांस्कृतिक गतिविधि तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।
राजदेवी मन्दिरमा विशेषगरी महाअष्टमी, महानवमी र विजया दशमीका दिन भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ । मिथिला क्षेत्रका विभिन्न स्थानका साथै अन्य जिल्ला र भारतबाट समेत श्रद्धालु दर्शन तथा पूजाआराधनाका लागि यहाँ आउने गर्छन् ।
महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहका अनुसार मन्दिरमा पूजाआराधना र दर्शनलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । भक्तजनको सेवामा ५० जना स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको उनले बताए ।
उनका अनुसार मूलपूजा, कालरात्रि पूजा, सुरक्षा, महाप्रसाद वितरण, खोइँछ भराइ, सजावट, लाइन व्यवस्थापन, रावण दहन, विजय जुलुस, मनोरञ्जन मेला र सरसफाइका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ । यस वर्षको उत्सवलाई विगतका वर्षभन्दा अझ व्यवस्थित र भव्य बनाउने लक्ष्य राखिएको अध्यक्ष साहले जानकारी दिए ।
भक्तजनको भीड व्यवस्थापन गर्न महिला र पुरुषका लागि छुट्टाछुट्टै दर्शन लाइनको व्यवस्था गरिएको छ । मन्दिर परिसरमा सीसीटीभी क्यामेरामार्फत निगरानी गर्ने, प्रवेशद्वारमा स्वयंसेवक परिचालन गर्ने र सुरक्षा समितिलाई सक्रिय बनाउने तयारीसमेत गरिएको छ।
दशैँका अवसरमा मन्दिर परिसरमा सांस्कृतिक गतिविधि सञ्चालन गर्नुका साथै आगन्तुकको मनोरञ्जनका लागि खेल सामग्रीसमेत राखिने अध्यक्ष साहले बताए । बोका बलिको रसिद शुल्क बढाउने वा यथावत् राख्ने भन्ने विषयमा भने पूजा समितिको बैठकबाट निर्णय गरिने उनले जानकारी दिए ।
हजारौँ श्रद्धालु सहभागी हुने धार्मिक उत्सवको व्यवस्थापनका लागि तीनै तहका सरकारले बजेट विनियोजन नगरेको भन्दै आयोजक पक्षले असन्तुष्टि जनाएको छ । अध्यक्ष साहले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वको व्यवस्थापनमा सरकारी निकायबाट समेत सहयोग हुनुपर्ने बताए ।
दशैँ मिथिला क्षेत्रमा धार्मिक आस्था, पारिवारिक पुनर्मिलन र सांस्कृतिक परम्परासँग जोडिएको प्रमुख पर्व हो । राजदेवी मन्दिरमा हुने विशेष पूजाआराधना र सामुदायिक सहभागिताले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै आएको छ ।