बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४, बेहरामा घर पछाडि सरसफाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया सिरिया देवी महतो रहनुभएको छ । शनिबार दिउँसो करिब १ः५० बजे सरसफाइ गर्ने क्रममा नाङ्गो विद्युत् तार छुँदा उहाँलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते हुनुभएकी महतोलाई श्रीमान् रामचन्द्रले उपचारका लागि सिमरास्थित सिटी स्टार अस्पताल पुर्याउनुभएको थियो । अस्पतालका चिकित्सकले दिउँसो २ बजे उहाँलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विमल खतिवडाले जानकारी दिनुभयो ।