रौतहट । महिला र पुरुषबीच समान ज्याला निर्धारण हुन थालेपछि रौतहटको निर्माण क्षेत्रमा महिला मजदुरको सहभागिता बढ्दै गएको छ । विगतमा पुरुषसरह काम गर्दा पनि कम पारिश्रमिक पाउँदै आएका महिला मजदुरले समान ज्याला पाउन थालेपछि निर्माण कार्यप्रति उनीहरूको आकर्षण बढेको हो ।
चन्द्रपुर नगरपालिका–१, नयाँबस्तीकी सुमित्रादेवी बिन अहिले पुरुषसरह ज्याला पाउँदा आफ्नो श्रमको सम्मान भएको महसुस गर्नुहुन्छ । दिनभरि एउटै प्रकृतिको काम गर्दा पनि पुरुषभन्दा कम पारिश्रमिक पाउँदै आउनुभएकी उहाँले महिला र पुरुषको ज्याला समान हुने कल्पनासमेत गर्नुभएको थिएन। हाल उहाँको समूहमा निर्माणसम्बन्धी काम गर्ने १० जना महिला छन् । समान पारिश्रमिक पाउन थालेपछि कामप्रतिको उत्साह बढेको उहाँको अनुभव छ ।
पक्की भवन निर्माणको ठेक्का लिएर व्यवसाय गर्दै आउनुभएका चन्द्रपुर नगरपालिका–७ का प्रमोद दासका अनुसार महिला र पुरुषबीच ज्यालामा असमानता हुँदा निर्माण क्षेत्रमा मजदुर अभाव हुने गरेको थियो । अहिले ज्याला समान हुन थालेपछि महिला मजदुर पनि निर्माण कार्यमा सक्रिय हुन थालेका छन् ।
केही महिनाअघिसम्म आठ घण्टा काम गरेबापत पुरुष मजदुरले दैनिक एक हजार रुपैयाँ पाउँदा महिलाले भने ६ सय रुपैयाँ मात्रै पाउने गरेका थिए । अहिले महिला र पुरुष दुवैको दैनिक ज्याला समान निर्धारण गरिएको निर्माण व्यवसायी स्वरूप मियाँले बताउनुभयो। समान ज्यालाले महिला मजदुरको सहभागिता बढाउनुका साथै निर्माण क्षेत्रमा देखिँदै आएको जनशक्ति अभाव कम गर्न पनि सहयोग गरेको छ ।
गुजरा नगरपालिका–५ की चाँदनी साहका अनुसार समान ज्याला पाउन थालेपछि इँटा बोक्ने, धुने, निर्माण सामग्रीको मसला तयार गर्ने तथा गिट्टी र बालुवा चाल्ने काममा महिला मजदुरको सहभागिता बढेको छ ।
निर्माण क्षेत्रमा शारीरिक श्रमको महत्त्वपूर्ण भूमिका रहे पनि एउटै प्रकृतिको काम गर्ने महिला र पुरुषबीच लामो समयदेखि ज्यालामा ठूलो अन्तर रहँदै आएको थियो । अहिले समान ज्यालाको अभ्यास बढ्दै जाँदा महिलाले आफ्नो श्रमको उचित मूल्य पाउन थालेका छन् ।
चन्द्रपुर नगर निर्माण व्यवसायी सङ्घका अध्यक्ष मनोज साहका अनुसार ज्यालामा समानता कायम हुन थालेपछि महिला मजदुरको श्रमको सम्मान हुनुका साथै निर्माण व्यवसायीलाई आवश्यक जनशक्ति जुटाउनसमेत सहज भएको छ।