धनुषाको जनकपुरधाममा छुरा प्रहारबाट युवकको हत्या भएको घटनामा पक्राउ परेका आरोपी मोहम्मद ईर्साद खान र उनका आमाबुबाविरुद्ध कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–५, सोनरपट्टीका २२ वर्षीय मोहम्मद ईर्साद खान, उनका बुबा मोहम्मद समिम खान र आमा सैमुन खातुनविरुद्ध जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकका काका रियाज साफीले शनिबार दिएको किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गत असोज २२ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित जानकी मन्दिर पछाडि छुरा प्रहार हुँदा स्थानीय २४ वर्षीय आमिन साफीको मृत्यु भएको थियो। घटनामा २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै प्रहरीले छुरा प्रहारमा संलग्न रहेको आरोपमा मोहम्मद ईर्साद र उनकी आमा सैमुन खातुनलाई पक्राउ गरेको थियो। घटनामा बुबा मोहम्मद समिम खानको संलग्नताबारे भने जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार ईर्सादमाथि यसअघि पनि धारिलो हतियार प्रहार गरेको आरोपमा दुईवटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा विचाराधीन छन्। उनीमाथि २०८२ फागुन ३ गते र २०८३ जेठ ७ गते भएका छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोप लागेको छ ।
त्यसैगरी, सामाजिक सञ्जालमा विभिन्न समुदायलाई लक्षित गरी गालीगलौज गर्ने, घृणा फैलाउने अभिव्यक्ति दिने तथा हातहतियार प्रदर्शन गर्ने गरेको आरोपसमेत उनीमाथि लगाइएको छ। यी आरोपहरूको पुष्टि अनुसन्धान तथा कानुनी प्रक्रियाबाट हुन बाँकी छ ।
युवकको हत्या र अर्का युवक गम्भीर घाइते भएको घटनापछि जनकपुरधाममा सुरक्षा तथा सामाजिक सद्भावको विषयमा चासो बढेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।