धनुषाको जनकपुरधाममा ई–रिक्साको सिटमुनि फल्स बटन बनाएर लुकाइएका भन्सार छलीका इलेक्ट्रोनिक्स सामान प्रहरीले बरामद गरेको छ। प्रहरीले करिब ८ लाख ८५ हजार रुपैयाँ मूल्यका सामानसहित ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार दिउँसो करिब २ बजे जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बसपार्कमा खटिएको प्रहरी टोलीले महोत्तरीबाट जनकपुरतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००२ प १२२२ नम्बरको यात्रुबाहक ई–रिक्सा रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा चालक र यात्रु बस्ने सिटमुनि गोप्य ठाउँ बनाएर लुकाइएका इलेक्ट्रोनिक्स सामान फेला परेका थिए। प्रहरीले ती सामान भन्सार छली गरी ल्याइएको जनाएको छ ।
प्रहरीले ई–रिक्साका चालक तथा धनी महोत्तरीको जलेश्वर नगरपालिका–२ निवासी १८ वर्षीय रवि कुमार ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बरामद सामानमा २०० थान एयरबड्स प्रो, १०० थान स्मार्टवाच, १०० थान न्यू ओजी ग्लास र २० प्याकेट खुला इयरफोन रहेका छन् ।
प्रहरीले एयरबड्सको मूल्य २ लाख रुपैयाँ, स्मार्टवाचको ८० हजार रुपैयाँ, ग्लासको ५५ हजार रुपैयाँ र इयरफोनको १ लाख ५० हजार रुपैयाँ अनुमान गरेको छ। सामान ओसारपसारमा प्रयोग गरिएको ई–रिक्साको मूल्य करिब ४ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
बरामद सामान र ई–रिक्सासहित कुल मूल्य करिब ८ लाख ८५ हजार रुपैयाँ रहेको छ। प्रहरीले बरामद सामान र ई–रिक्सालाई आवश्यक कानुनी कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।