जनकपुरधाम । दसैँको आगमनसँगै जनकपुरधामस्थित प्रसिद्ध राजदेवी मन्दिरसहित विभिन्न देवीदेवताका मन्दिरलाई आकर्षक ढङ्गले सजाइएको छ । विजयादशमीका अवसरमा हुने विशेष पूजाआराधनालाई भव्य र व्यवस्थित बनाउन राजदेवी मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको छ ।
मिथिलाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राजदेवी मन्दिरलाई झिलिमिली बत्ती, प्लास्टिकका फूलमाला र विभिन्न प्रकारका तोरणले सिँगारिएको छ । राजा जनककी कुलदेवीका रूपमा श्रद्धा गरिने राजदेवीको मन्दिरमा विगतका वर्षभन्दा यस पटकको पर्वलाई अझ आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले विशेष तयारी गरिएको पूजा व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर परिसरलाई आकर्षक बनाउन भारतबाट भाडामा ल्याइएका सजावटी सामग्री प्रयोग गरिएको छ । पूजाआराधनासँगै सांस्कृतिक कार्यक्रम र मनोरञ्जनका सामग्रीको व्यवस्था पनि गरिएको छ । यसले दसैँको रौनक थप बढाउने र श्रद्धालु तथा आगन्तुकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
राजदेवी मन्दिरमा विशेषगरी महाअष्टमी, महानवमी र विजयादशमीका दिन भक्तजनको उल्लेख्य भीड लाग्ने गर्छ । मिथिला क्षेत्रका विभिन्न स्थानका साथै अन्य जिल्ला र भारतबाट समेत श्रद्धालु यहाँ पुगेर देवीको पूजाआराधना गर्ने तथा परिवारको सुख, शान्ति र समाजको कल्याणको कामना गर्ने परम्परा छ ।
दसैँका अवसरमा मन्दिरमा हुने पूजाआराधना र दर्शनलाई व्यवस्थित बनाउन सुरक्षा तथा भीड व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । सम्भावित अव्यवस्था रोक्न स्थानीय प्रशासन र आयोजकबीच समन्वय गरी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। मन्दिर परिसरमा सिसिटिभी क्यामरा जडान, स्वयंसेवक परिचालन तथा महिला र पुरुषका लागि छुट्टाछुट्टै दर्शन लाइनको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
साढे तीन दशकदेखि राजदेवी मन्दिरको पूजा व्यवस्थापनमा संलग्न महावीर युवा कमिटीका अध्यक्ष दीपककुमार साहका अनुसार भक्तजनलाई सहज रूपमा सेवा उपलब्ध गराउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ। दर्शन व्यवस्थापन, सुरक्षा र अन्य आवश्यक कामका लागि ५० जना स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
साहका अनुसार मूलपूजा, कालरात्रि पूजा, सुरक्षा, महाप्रसाद वितरण, खोइँछ भराई, साजसज्जा, दर्शन लाइन व्यवस्थापन, रावणदहन, खानपान, विजय जुलुस, मनोरञ्जन मेला तथा सरसफाइका लागि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ। यस वर्षको उत्सवलाई विगतका वर्षभन्दा अझ भव्य, सभ्य र व्यवस्थित बनाउने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
पूजाआराधनासँगै सुरक्षा प्रबन्धलाई पनि प्राथमिकता दिइएको कमिटीले जनाएको छ। सिसिटिभीबाट निगरानी गर्ने, सुरक्षासम्बन्धी समितिलाई सक्रिय बनाउने र प्रवेशद्वारमा स्वयंसेवक खटाउने व्यवस्था मिलाइएको छ। ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले दर्शन तथा बलि प्रक्रियालाई सहज र व्यवस्थित बनाउन आवश्यक तयारी भइरहेको अध्यक्ष साहले जानकारी दिनुभयो ।
मन्दिर परिसरलाई आकर्षक बत्तीले सजाउनुका साथै सांस्कृतिक गतिविधि सञ्चालन गर्ने र आगन्तुकको मनोरञ्जनका लागि खेल सामग्रीसमेत राखिने भएको छ । बोका बलिको रसिद शुल्क बढाउने वा यथावत् राख्ने विषयमा भने पूजा समितिको बैठकबाट निर्णय गरिने साहले बताउनुभयो ।
मन्दिरको आकर्षक साजसज्जा, सुरक्षा सतर्कता र दर्शन व्यवस्थापनको तयारीले यस वर्षको दसैँ उत्सवलाई सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । धार्मिक विधि, सांस्कृतिक गतिविधि र परम्परालाई समेट्दै जनकपुरधामको राजदेवी मन्दिरमा दसैँ मनाउने तयारी गरिएको छ ।