१. बडादसैँ सुरु, घटस्थापनासँगै घरघरमा जमरा राखेर दुर्गा भवानीको पूजा
नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै घरघरमा जमरा राखेर दुर्गा भवानीको पूजा–आराधना गरिँदैछ ।
नवरात्रभर शक्तिस्वरूपा नवदुर्गाको पूजा गरिने यस पर्वमा देशभरका शक्तिपीठ तथा भगवती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँ विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेसँगै विशेष उल्लासका साथ मनाइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको थियो ।
२. बडादसैँलाई लक्षित गर्दै जनकपुरधाम झकिझकाउ, सुरक्षा र सहुलियत बजारको व्यवस्था
बडादसैँलाई लक्षित गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनलाई सहज बनाउन आवश्यक व्यवस्थापन गरिएको छ ।
श्रद्धालु भक्तजनको सम्भावित भीडलाई ध्यानमा राख्दै धनुषा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । यस्तै, मिथिलाको मौलिक संस्कृति झल्काउने झिझिया, भजनसन्ध्या र रावण दहनलगायत कार्यक्रमको तयारी गरिएको छ।
यसैबीच, दसैँसहितका चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सहुलियत मूल्यको सस्तो बजारसमेत सञ्चालन गरिएको छ ।
३. घटस्थापनामा वीरगञ्जमा १५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा भक्तजनको घुइँचो
नेपालीहरूको महान् पर्व बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा वीरगंजमा १५१ मिटर लामो चुनरी यात्रा निकालिएको छ ।
प्रसिद्ध शक्तिपीठ गहवामाईको सम्मानमा महिला भक्तजनको सहभागितामा निकालिएको उक्त यात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाएको छ । चुनरी यात्रामा सहभागी भक्तजनले माता गहवामाईको जयजयकार गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
घटस्थापनासँगै गहवामाई मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। यस यात्राले धार्मिक आस्था, महिला सहभागिता र सांस्कृतिक एकताको सन्देश दिएको छ ।
४. चाडपर्वमा यात्रुको सहजताका लागि कलैयाको भरत चोकमा यात्रु सहायता कक्ष स्थापना
चाडपर्वका बेला यात्रुको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले बाराको कलैयास्थित भरत चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले आइतबार सहायता कक्षको उद्घाटन गरेका हुन् । सहायता कक्षमार्फत यात्रुका भाडादर, सामान हराउने, सुरक्षालगायतका समस्या तथा गुनासो तत्काल सम्बोधन गरिने प्रहरीले जनाएको छ ।
यात्राका क्रममा कुनै समस्या परे सहायता कक्षमा सम्पर्क गर्न यात्रुहरूलाई आग्रह गरिएको छ ।
५. दसैँ बिदामा पनि वीरगंजस्थित उच्च अदालतको अस्थायी इजलास खुला रहने
बडादसैँको सार्वजनिक बिदामा पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज खुला रहने भएको छ।
अदालतका अनुसार असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अत्यावश्यक न्यायिक सेवा सञ्चालन गरिनेछ । सार्वजनिक बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा तथा वाणिज्यसम्बन्धी अत्यावश्यक निवेदनमा सुनुवाइ हुनेछ।
दसैँ बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको अदालतले जनाएको छ ।