सप्तरीको विष्णुपुर गाउँपालिका–७, विष्णुपुरका ६० वर्षीय लक्ष्मी रामले अहिलेसम्म नेपाली नागरिकता पाएका छैनन् ।
बाल्यकालमै बुवा गुमाएका उनी नागरिकताबाट वञ्चित हुँदा उनको परिवारका तीन पुस्ता नै राज्यको औपचारिक पहिचानबाट टाढा छन्। लक्ष्मीसहित उनकी श्रीमती, दुई छोरा–बुहारी र छ जना नातिनातिना गरी १२ जनाको परिवार नागरिकता तथा अन्य आवश्यक व्यक्तिगत कागजातको अभावमा समस्यामा परेको छ ।
करिब पाँच दशकअघि कोशी नदीको बाढीले विस्थापित भएपछि लक्ष्मीका बुवा रामजी राम विष्णुपुर टोलमा आएर बसेका थिए। भूमिहीन परिवारका रूपमा लामो समय त्यही टोलमा बिताएको यो परिवार घरमूली लक्ष्मी रामको नागरिकता बन्न नसकेपछि थप समस्यामा परेको छ। परिवार बढ्दै गएपछि उनीहरू कोशी पश्चिमी नहरको डिलमा सरेर बसोबास गर्दै आएका छन् ।
परिवारका अनुसार नागरिकता नहुँदा उनीहरूले राज्यबाट उपलब्ध हुने विभिन्न सेवा तथा सुविधामा पहुँच पाउन सकेका छैनन्। आर्थिक अभाव र आवश्यक कागजातको समस्याका कारण लक्ष्मीका दुई छोरा दिलिप र प्रदीपले विद्यालय शिक्षा हासिल गर्ने अवसरसमेत पाएनन् ।
लक्ष्मीका ३३ वर्षीय छोरा दिलिप र ३० वर्षीय प्रदीपको जन्मदर्ता, नागरिकता तथा विवाह दर्तासमेत हुन सकेको छैन। उनीहरूका १४, ११, १०, ९, ७ र २ वर्षका छ जना बालबालिकाले पनि जन्मदर्ता बनाउन पाएका छैनन्। यसले बालबालिकाको शिक्षा र भविष्यमा समेत असर पारिरहेको परिवारको भनाइ छ ।
दिलिपका अनुसार उनका तीन जना बालबालिकालाई विद्यालय पठाउने प्रयास गरिए पनि अन्य बालबालिकासरह अवसर र सुविधाबाट वञ्चित हुनुपर्दा उनीहरू निराश हुने गरेका छन् । आवश्यक कागजात नहुँदा बालबालिकाले भोग्नुपरेको कठिनाइले परिवार थप चिन्तित बनेको छ ।
‘तीन जना बालबालिकालाई विद्यालय पठाउँछौँ पनि, तर अरू बालबालिकासरह सेवासुविधा नपाउँदा दुःख लागेर अब विद्यालय जानै मान्दैनन्,’ दिलिपले भने ।
उनले बुवा लक्ष्मी रामले परिवारको पहिचान स्थापित गराउन सकेजति प्रयास गरे पनि सफल हुन नसकेको बताए। गरिबी र दलित समुदायको परिवार भएकै कारण आफूहरूको समस्याप्रति सम्बन्धित पक्षले पर्याप्त चासो नदिएको उनको गुनासो छ ।
‘बुवा त्यति बुझ्नुहुन्न, तर सकेजति पहिचानका लागि प्रयास गर्नुभयो। जति प्रयास गर्दा पनि दलित–गरिब बुझेर वास्ता गर्ने कोही भएन,’ दिलिपले भने ।