अमलेखगञ्जबाट अढाई किलो लागूऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको टोलीले राजमार्गमा नियमित सवारी जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइवा र मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ का ४८ वर्षीय हिलाल वाइवा रहेका छन् ।
उनीहरू हेटौंडाबाट प्र.३–०३–००२ प ८११ नम्बरको मोटरसाइकलमा वीरगंजतर्फ जाँदै थिए । सोही क्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्की नेतृत्वको टोलीले सवारी जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखेको २ किलो ५०० ग्राम अफिम बरामद गरेको थियो ।
पक्राउ परेका वाइवा दाजुभाइलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन् । अफिमको तस्करीबारे गहिरो अनुसन्धान भइरहेको र तस्करीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा नजिकैका क्षेत्रहरू लागूऔषध तस्करीको मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएका छन् ।
पछिल्लो समय पर्सा, बारा, रौतहट, मकवानपुर लगायतका जिल्लाहरूमा अफिम, ब्राउन सुगर, गाँजा तथा अन्य लागूऔषधको कारोबार बढ्दै गएको देखिन्छ ।