महोत्तरीको बर्दिबासमा कार्यरत एक श्रमिकको काम गर्ने क्रममा अचानक ढलेर मृत्यु भएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय बर्दिबासले अनुसन्धान सुरु गरेको जनाएको छ ।
मृत्यु हुनेमा रौतहटको चन्द्रपुर निवासी ६० वर्षीय सुरता माझी रहेका छन्। उनी बर्दिबास नगरपालिका–१४ स्थित बर्दिबास–औरही–जलेश्वर सडकमा रहेको कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत थिए ।
प्राप्त विवरणअनुसार माझी आइतबार दिउँसो वर्कसपमा काम गरिरहेका बेला अचानक ढलेका थिए। त्यसपछि उनको मृत्यु भएको कम्पनी सञ्चालक विजय लो तामाङले बताएका छन् ।
घटनाको जानकारी पाएपछि प्रहरीले घटनास्थलको अवलोकन गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक ताराबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार शव परीक्षणपछि मृत्युको कारणबारे थप तथ्य खुल्न सक्नेछ। प्रहरीले शव परीक्षणको प्रतिवेदन प्राप्त भएपछि अनुसन्धानलाई थप अघि बढाउने जनाएको छ ।
माझीको मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।