बारामा प्रहरीले एक महिनाको अवधिमा लागूऔषध ओसारपसारमा संलग्न चार भारतीयसहित २४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १८ नेपाली पुरुष, ४ भारतीय पुरुष र २ नेपाली महिला रहेका छन् । बाराको विभिन्न स्थानबाट माघ १८ गतेदेखि फागुन २० गतेसम्म विशेष अभियान चलाएर ती व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट ३ क्विन्टल २० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम र १७०.४ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । प्रहरीले लागूऔषध कारोबारविरुद्धको अभियानलाई तीव्रता दिँदै जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको ९ बिघा १ कठ्ठा ५ धुर क्षेत्रफलको गाँजा खेती र १ कठ्ठा १० धुर क्षेत्रफलको अफिम खेती नष्ट गरेको जनाएकाे छ ।
त्यसैगरी, प्रहरीको अभियानका क्रममा स्रोत नखुलेको ३ लाख २ हजार ५६५ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी राखेको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक पण्डितका अनुसार लागूऔषध नियन्त्रणका लागि प्रहरीले कडाइ गरिरहेको छ । उनले स्थानीयलाई पनि कुनै शंकास्पद गतिविधि देखेमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।