धान भित्र्याउने कामदार नपाएर सर्लाहीका किसान हैरान भएका छन् । जिल्लाको उत्तरी भेगमा धान पाकेर पहेँलपुर भए पनि भित्र्याउनका लागि कामदार नभेटिएपछि किसानलाई समस्या परेको हो ।
कामदार नपाउँदा घारिबथान, परवानीपुर, रानिगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया, हरिवनलगायत क्षेत्रका किसानलाई धान थन्काउन समस्या परेको छ ।
दसैँको समयमा किसानले धमाधम पाकेको धान काट्ने, थ्रेसर लगाउने र घरमा ल्याएर भकारीमा थन्काउने काम गरिरहेका छन् । लालबन्दी नगरपालिका –१६, परवानीपुरका किसान भरतप्रसाद गौतमका अनुसार अधिकांश किसानको खेतमा धान पाकिसकेको भए पनि कामदार पाउनै मुस्किल छ ।
ढिलोगरी धान पाक्ने जिल्लाको दक्षिणी भेगबाट उत्तरी भेगमा केही कामदार धान काट्ने कामका लागि आएका छन्, तर पर्याप्त छैनन् । कामदार नपाएपछि दसैँ मनाउन गाउँघर आएकाहरु तथा आफन्तसमेत मिलेर धान काटिरहेका गौतमले जानकारी दिनुभयो ।
यो वर्ष दसैँ पछाडि धकेलिएकाले किसानलाई चाडपर्वकै बेला धान थन्काउने चटारो परेको हो । गौतमले भन्नुभयो, “किसानलाई यो साल दसैँभन्दा त पाकेको धान कसरी भित्र्याउने भन्ने चिन्ता बढी रह्यो । त्यसैमाथि कामदार नपाएर झन हैरान छन् ।”
कामदार अभावले गर्दा धान काट्न ढिलो भएको किसानको गुनासो छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कात्तिक ११ गतेदेखि वर्षाको पूर्वानुमान गरेकाले पनि कामदार अभावकै बिच पाकेको धानबाली भित्र्याउनु पर्ने बाध्यता रहेको किसानले बताएका छन् ।
केही क्षेत्रमा पाकिसकेको धानमा किरा लागेर बाला काट्न थालेपछि किसानलाई धान बाली हतार गरेर भित्र्याउनु पर्ने बाध्यता परेको छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका किसान रामजी थापाले आफूहरुको क्षेत्रमा किराले खाएर धानको बाला खेतभरी पारेको जानकारी दिनुभयो ।
कामदार नपाएर किसानलाई धान काट्नेदेखि धान तथा पराल घरसम्म ल्याउन सकस परिरहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा काम गर्ने मान्छे नै कम छन् । दक्षिणी बेल्टबाट आएका थोरै कामदार तानातान भइरहेको छ ।”
पछिल्लो समय धान काट्न फाट्टफुट्ट हाते मेसिन आएको छ । मेसिनबाट धान काट्न पनि दुई–तीन दिन कुर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । धान झार्न भने प्रत्येकजसो किसानको खेतमा थ्रेसर पुग्ने गरेको छ । कामदारले गर्नुपर्ने कामका लागि भने मान्छे पाउनै मुस्किल रहेको किसानले बताएका छन् ।
उत्तरी भेगको किसानलाई अहिले धान भित्र्याउनेसहित पराल थन्काउने, मास उखेल्ने, बोडी टिप्ने, तोरी छर्नेसहितको कामको एकैसाथ चटारो छ । जिल्लाको दक्षिणी बेल्टमा भने ढिलो गरी पाक्ने धान लगाइएको र तिहार तथा छठको छेका धान काट्ने समय हुने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।
किसानको पहुँचमा आधुनिक उपकरण नपुग्दा, मानिसले नै गर्नुपर्ने कामका लागि कामदार नपाउने र अर्मपर्मको परम्परा हराउँदै गएसँगै खेती गर्न मुस्किल परेको गुनासो बढ्दै गइरहेको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यो वर्ष जिल्लाभर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा आधाउधी धान पाकेर भित्र्याउने बेला भएको छ ।
कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि प्रसार अधिकृत कमलदेवप्रसाद कुशवाहाले बैदेशिक रोजगारमा बढ्दो आकर्षणका कारण कृषि क्षेत्रमा कामदारको अभाव बढ्दै जानु चिन्ताजनक विषय बनेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “एकातर्फ सम्पूर्ण किसानको पहुँचमा आधुनिक कृषि उपकरण पुग्न सकेको छैन्, अर्कोतर्फ कामदार अभाव चिन्ताजनक विषय बन्दैगएको छ ।”