भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल चितवन पुगेकी छिन् ।
सोमबार विहान चितवन पुगेकी मन्त्री रावलले प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत तथा जिल्लाका सातवटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरेकी छिन् । छलफलमा राज्य व्यवस्था समिति सभापति हरि ढकाल पनि सहभागी थिए ।
चितवनमा रहँदा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्ने कार्यक्रम छ । साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले भूमिहीन तथा सुकुमबासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्नेछिन् । साथै, मन्त्रालयबाट हालसम्म भएका काम, आगामी योजना तथा नागरिकका गुनासा र तिनको समाधानका उपायबारे जानकारी आदानप्रदान गरिनेछ ।