सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१४, बिहीबारे टोलबाट प्रहरीले १६ किलो २७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ५६ वर्षीय झनकबहादुर ठकुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठकुरीको घरमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार प्रहरीले उनको घरमा खानतलासी गरेको थियो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालको नेतृत्वमा खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ठकुरीको घरभित्रबाट ३ किलो ५२० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, घरबाट करिब ५० मिटर पूर्व सरे खोलाको कासघारीबाट थप १२ किलो ७५० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल १६ किलो २७० ग्राम रहेको छ । प्रहरीले ठकुरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखेको छ ।