महोत्तरी । छठ पर्व नजिकिएसँगै महोत्तरीका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । छठमा प्रयोग हुने डालो, नाङ्लो, सुपली र दुनाटपरीको माग बढेपछि समुदायका सदस्य बिहानदेखि बेलुकासम्म उत्पादनमा जुटेका छन् ।
छठ पर्वमा सूर्यदेव र छठी मातालाई अर्घ्य दिन बाँस तथा बेतका चोयाबाट बनेका सामग्री प्रयोग गर्ने परम्परा छ । यही परम्पराले डोम समुदायको पुर्ख्यौली पेसालाई चलायमान बनाएको छ । पर्वलाई लक्षित गर्दै असोजदेखि नै सामग्री बनाउन थालेका उनीहरू अहिले मागअनुसार उत्पादन गर्न व्यस्त छन् ।
औरही नगरपालिका–१ का ५० वर्षीय इन्दल मलिकले छठलाई दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्वका रूपमा लिने गरेको बताए । उनका अनुसार छठका बेला बाँसका सामग्रीको बिक्री बढ्ने भएकाले परिवारको आम्दानीसमेत बढ्छ ।
स्थानीय सबिता मलिकका अनुसार छठमा प्रयोग हुने सुपली र डालोका साथै विवाहमा आवश्यक पर्ने सामग्रीसमेत बनाएर गाउँगाउँमा बिक्री गरिन्छ । गौशाला नगरपालिका–५ की ६० वर्षीया सबिता मलिकले कात्तिक लागेपछि दिनभरि बाँसका सामग्री बनाउनमै बित्ने गरेको बताइन् ।
“कात्तिक लागेपछि बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र दुनाटपरी बनाउन व्यस्त हुन्छौँ । बजारमा बिक्री पनि राम्रो हुन्छ,” उनले भनिन् ।
औरही नगरपालिका–६, बैरियाका राजेन्द्र मलिकले बाँसका सामग्री बिक्रीबाट प्राप्त आम्दानीले वर्षभरको घरखर्च जुटाउन सहयोग पुग्ने बताए । सम्सी गाउँपालिकाका राजेश मलिकका अनुसार छठको समयमा परिवारका सबै सदस्य मिलेर सामग्री बनाउँदा प्रतिव्यक्ति ४० देखि ५० हजार रुपैयाँसम्म र परिवारका हिसाबले दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
अहिले जिल्लाका अधिकांश गाउँमा डोम समुदायका घरआँगन बाँस र बेतले भरिएका छन् । बालबालिकादेखि ज्येष्ठ सदस्यसम्म चोया चिर्ने र विभिन्न सामग्री बनाउने काममा संलग्न छन् । छठ मनाउनेको सङ्ख्या बढ्दै जाँदा सामग्रीको मागसमेत बढेको छ । मागअनुसार उत्पादन गर्न नसक्दा कतिपय परिवारलाई समयमै सामग्री उपलब्ध गराउन कठिन भइरहेको स्थानीयवासी बताउँछन् ।
अन्य समयमा पुर्ख्यौली पेसाबाट घरखर्च चलाउन कठिन हुने डोम समुदायका लागि छठको मौसम आम्दानी बढाउने अवसर बनेको छ । बाँसका सामग्री निर्माण र बिक्रीले उनीहरूको जीविकोपार्जनमा सहयोग पुर्याउनुका साथै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र परम्परालाई निरन्तरता दिनसमेत मद्दत गरेको छ ।