भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अस्थायी पैठारी अनुमति (भन्सार छुटपुर्जी) को दुरुपयोग गर्दै नेपाली भूमिमै राखेर तस्करीमा प्रयोग गर्ने गरेको आशङ्का सार्वजनिक भएको छ । मोरङको विराटनगर नाकामा भारतीय सुरक्षा निकायको अभिलेख र नेपाली सुरक्षाकर्मीको अनुसन्धानबाट यस्तो गतिविधि बाहिर आएपछि भन्सार प्रक्रियामाथि समेत प्रश्न उठेको छ ।
गत असोज ३१ गते विराटनगर–१८ स्थित मटेरुवा नाकामा नियमित गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको हुन्डाई भेन्यु कारलाई शङ्कास्पद अवस्थामा देखेको थियो । सुरक्षाकर्मीले रोक्न खोज्दा चालकले गाडी नरोकी भगाएको बताइएको छ ।
बीआर ३८ एपी ८२८६ नम्बरको उक्त कार केहीबेरपछि दिउँसो ४ बजेर ५० मिनेटमा विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाट नजिक फेला परेको थियो । सुरक्षाकर्मीका अनुसार गाडी नेपालतर्फबाट भन्सार ढाटतर्फ गइरहेको थियो। चालकले भारतबाट भर्खरै आएको देखाएर अस्थायी पैठारी अनुमति लिने प्रयास गरेको आशङ्का गरिएको छ ।
सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिन खोजेपछि चालक चाबी लिएर फरार भएका थिए। त्यसपछि अवैध क्यारिङ तथा तस्करीमा संलग्न रहेको आशङ्का गरिएका सुरेशकुमार यादव र सबरुन खातुनले विराटनगरको एक होटलमा पत्रकार सम्मेलन गरी सुरक्षाकर्मीमाथि आरोप लगाएका थिए । उनीहरूले वैध रूपमा भन्सार सुविधा लिएर सञ्चालन गरेको गाडी नियन्त्रणमा लिएर सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीका डीएसपी सूर्यप्रकाश शर्मा र सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले नौ दिनसम्म दुःख दिएको दाबी गरेका थिए ।
तर, भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ बटालियनअन्तर्गत जोगबनीस्थित बोर्डर चेक पोस्ट (बीसीपी) ले पठाएको पत्रले उक्त दाबीमाथि प्रश्न उठाएको छ। एसएसबीले सशस्त्र प्रहरीलाई पठाएको पत्रमा असोज ३१ गते उक्त हुन्डाई भेन्यु कार भारतबाट नेपालतर्फ प्रवेश नगरेको उल्लेख छ ।
एसएसबीको पत्र र उपलब्ध सीसीटीभी फुटेजका आधारमा गाडी नेपालमै राखेर भन्सारबाट कागजी प्रक्रिया पूरा गराउने गरिएको हुन सक्ने आशङ्कामा अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
भन्सार प्रक्रियामाथि प्रश्न, कर्मचारीको भूमिकाबारे अनुसन्धान
अनुसन्धानमा संलग्न सुरक्षा अधिकारीहरूका अनुसार केही व्यक्तिले भारतीय गाडी नेपालमै राखेर भन्सारबाट अस्थायी पैठारी अनुमति लिने गरेको आशङ्का छ । उनीहरूका अनुसार गाडी भारत नफर्काईकनै पटक–पटक छुटपुर्जी काट्ने गरिएको हुन सक्छ ।
एक सुरक्षा अधिकारीले भन्सारका कर्मचारीले गाडीको वास्तविक अवस्थाबारे स्थलगत जाँच नगरी कागजातका आधारमा मात्रै प्रक्रिया अघि बढाउने गरेको आरोप लगाए । फोनको आधारमा छुटपुर्जी जारी गरिएको हो कि भन्ने विषयमा समेत अनुसन्धान भइरहेको उनले बताए ।
सशस्त्र प्रहरी मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीले उक्त गाडी भारतबाट नेपाल प्रवेश गरेको अभिलेख नरहेको बताए। एसएसबीको इन्ट्री बुकमा समेत गाडीको विवरण नभेटिएको र भारतबाट प्रवेश नगरेको पुष्टि गर्ने पत्र प्राप्त भएको उनको भनाइ छ ।
सुरक्षा अधिकारीहरूका अनुसार भन्सारका कर्मचारीलाई गाडी नेपालमै रहेको जानकारी गराउँदै छुटपुर्जी जारी नगर्न आग्रह गरिएको थियो । तर, त्यसका बाबजुद पनि छुटपुर्जी काटिएको उनीहरूको दाबी छ। यस विषयमा भन्सार कर्मचारीको संलग्नता वा लापरबाही भए–नभएकोबारे अनुसन्धान हुनुपर्ने देखिएको छ ।
उक्त हुन्डाई भेन्यु कार कपडा र खाद्यान्नको अवैध ओसारपसारमा प्रयोग हुने गरेको प्रहरीको दाबी छ। सुरक्षा अधिकारीहरूले गाडी नेपालमै राखिएको देखाउने सीसीटीभी फुटेजसमेत आफूसँग रहेको बताएका छन् ।
एसएसबीको पत्र र सीसीटीभी फुटेज प्राप्त भएपछि सशस्त्र प्रहरीले गाडीको चाबी चालकले लुकाएकाले लक तोडेर सोमबार राति विराटनगर भन्सार कार्यालयमा बुझाएको जनाएको छ। करिब ७० देखि ८० लाख रुपैयाँ मूल्य पर्ने उक्त गाडी अब भन्सार कार्यालयको जिम्मामा रहेको छ ।
विराटनगर भन्सार कार्यालयका अधिकृत भीमराज आङदम्बेले प्रमुख भन्सार अधिकृत बिदाबाट फर्किएपछि मात्रै कानुनी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।
यसअघि पनि अवैध सामान बरामद
तस्करीमा संलग्न रहेको आशङ्का गरिएका सुरेशकुमार यादव यसअघि पनि अवैध सामानको कारोबारसम्बन्धी घटनामा जोडिएका व्यक्ति हुन् । गत भदौ ३ गते सशस्त्र प्रहरी बलको ३ नम्बर गण कंकालिनीले विराटनगर–१४ स्थित उनको घरमा छापा मार्दा तीन लाख ३८ हजार रुपैयाँ बराबरको अवैध रजनीगन्धा र लत्ताकपडा बरामद गरेको थियो ।
भन्सारमा धरौटी बुझाएपछि भदौ ६ गते यादव छुटेका थिए । त्यसपछि आफ्ना आफन्त मोहम्मद हाजरत अलीको नाममा रहेको भारतीय कारलाई पुनः तस्करीमा प्रयोग गरिएको आशङ्का प्रहरीले गरेको छ ।
सुरक्षा निकायका अनुसार मोरङ जिल्लामा मात्रै भन्सार सुविधाको दुरुपयोग गरी व्यक्तिगत प्रयोजन वा तस्करीका लागि प्रयोग भइरहेका भारतीय नम्बर प्लेटका साना सवारीसाधनको सङ्ख्या करिब ५०० रहेको अनुमान छ ।
सशस्त्र प्रहरीका एसपी भण्डारीका अनुसार खुला सीमाको फाइदा उठाउँदै भन्सार सुविधा लिएर नेपालमा राखिएका यस्ता गाडी अवैध मालसामान ओसारपसारका साथै लागुऔषध कारोबारमा समेत प्रयोग हुन सक्ने भएकाले सुरक्षा चुनौती बढेको छ ।
अस्थायी पैठारी अनुमति लिएर गाडी नेपालमै राख्न पाइँदैन
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले अस्थायी पैठारी अनुमति लिएर नेपाल भित्र्याइएका भारतीय गाडी लामो समयसम्म नेपालमै पार्किङ गरेर राख्न कानुनी छुट नरहेको स्पष्ट पारेका छन् ।
उनका अनुसार अस्थायी पैठारी सुविधाको अवधि सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी गाडी भारत फर्काउनुपर्छ। नियम उल्लङ्घन गर्ने सवारीसाधन नियन्त्रणमा लिएर भन्सार दाखिला गर्ने कार्यलाई तीव्रता दिइएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कबित कटुवालका अनुसार मंगलबार मात्रै विराटनगर–४ स्थित नहरचोकबाट बीआर ११ पीए ४२५४ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको थियो। प्रहरी देखेपछि चालक फरार भएको बताइएको छ।
यसअघि विराटनगर–१४ का ओम साहको घरबाट बीआर ११ डब्लू ३३०७ नम्बरको स्कार्पियो र बीआर ०७ एई ६५८४ नम्बरको केटीएम ड्युक मोटरसाइकलसमेत बरामद गरिएको थियो । ती सवारीसाधनका कागजात अहिलेसम्म भन्सारमा पेस हुन नसकेको प्रहरीले जनाएको छ ।
राजस्व सङ्कलन भए पनि भारतीय गाडीको अभिलेख व्यवस्थित छैन
यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पटके कर र रुट परमिटबापत २१ लाख ६४ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
तर, नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका भारतीय नम्बर प्लेटका सवारीसाधनको यकिन सङ्ख्या र तिनको प्रयोगबारे व्यवस्थित अभिलेख अझै तयार हुन सकेको छैन ।
विराटनगर नाकामा सार्वजनिक भएको यो घटनाले अस्थायी पैठारी अनुमति जारी गर्ने प्रक्रिया, सीमापार आवागमनको अभिलेख, भन्सार जाँच र सुरक्षा निकायबीचको समन्वयमाथि गम्भीर प्रश्न उठाएको छ । भारतीय गाडी नेपाल प्रवेश गरेको वास्तविक अभिलेखबिना छुटपुर्जी जारी भएको हो वा प्रक्रियामा अन्य कुनै कमजोरी भएको हो भन्ने विषयको निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ ।
यदि भन्सार प्रक्रियाको दुरुपयोग गरी गाडी नेपालमै राखेर तस्करी गरिएको पुष्टि भएमा त्यसमा संलग्न व्यक्ति तथा जिम्मेवार कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्नुका साथै यस्ता गतिविधि रोक्न अभिलेख र जाँच प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।