नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मिस्री बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणको तयारी तथा भ्रमणका क्रममा उठाइने एजेन्डाबारे छलफल भएको बताइएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री बुधबार नेपाल आएका हुन् । नेपाल आएलगत्तै उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका विषयमा विभिन्न राजनीतिक तथा सरकारी पक्षसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री बालेन आगामी मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भइरहेको छ । यद्यपि, भ्रमणको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन ।
यसअघि बुधबार विदेश सचिव मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता तथा छलफल गरेका थिए ।
प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि विदेश सचिव मिस्री स्वदेश फर्किने कार्यक्रम रहेको छ ।