नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । पार्टीका सहमहामन्त्री रामहरि खतिवडाका अनुसार बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चा र राजनीतिक वृत्तमा भइरहेको बहसका बीच कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।
कांग्रेस सहमहामन्त्री खतिवडाले सभापति थापालाई पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गरेका छन् । उनले कांग्रेसको आवाज कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको आरोपसमेत लगाएका छन् ।
‘सभापति पक्राउको आधार छैन, कांग्रेसको आवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने ।
उनका अनुसार कांग्रेसले सरकारका विवादित कदमबारे यसअघि नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेको छ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने बताइएको छ ।
यसैबीच, कांग्रेसकै सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सरकारले फैलाएको हल्ला र भ्रमप्रति आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सरकारले फैलाएको भय र भ्रमबाट विचलित नहुने उल्लेख गर्दै प्रहरी लगाएर आफूलाई खोज्न आवश्यक नरहेको बताएका छन् ।
‘सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु,’ शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन् ।
सभापति थापा पक्राउ पर्न सक्ने चर्चाले राजनीतिक वृत्तमा तरंग सिर्जना गरिरहेका बेला कांग्रेसको पदाधिकारी बैठकलाई चासोका साथ हेरिएको छ ।