काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार बिहान ११ बजेर ७ मिनेटको शुभ साइतमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितको हातबाट विधिपूर्वक भाइटीका लगाएका हुन् ।
भाइटीकाका अवसरमा बहिनी शारदाले राष्ट्रपति पौडेललाई ओखर, बदामलगायत फलफूल तथा विभिन्न सौगात प्रदान गरेकी थिइन् । त्यसपछि राष्ट्रपति पौडेलले पनि बहिनीलाई टीका लगाइदिँदै उपहार तथा दक्षिणा प्रदान गरेका थिए ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भाइटीका कार्यक्रम पारिवारिक तथा धार्मिक परम्पराअनुसार सम्पन्न भएको हो ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।
यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने चलन रहेको छ ।

