सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
सिंहदरबारस्थित समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो ।
प्रस्तावित न्यायाधीशहरूको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गरिएको थियो। सुनुवाइपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
यसअघि न्याय परिषद्ले उनीहरू चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएसँगै उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ ।