काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताउनुभएको छ । उहाँले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको ऋणमुक्ति र आर्थिक स्वतन्त्रताका लागि गरेको योगदानको स्मरण गर्दै नेपाल संवत्ले राष्ट्रिय पहिचानलाई सुदृढ बनाएको उल्लेख गर्नुभएको छ ।
नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको स्मरण गर्नुभएको हो ।
उहाँले नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै यस्ता ऐतिहासिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउँदै लगेको बताउनुभएको छ ।
काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै राष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेका लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले निःस्वार्थ भावनाका साथ सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर तथा प्रतिबद्ध रहन नेपाल संवत्ले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न सहयोग पुग्ने कामना गर्नुभएको छ । साथै, नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन नेपाल संवत्ले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।