बारा र सर्लाहीमा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
बारा जिल्लाको कोल्हवी नगरपालिका-५ सोनाभार क्षेत्रबाट १६ किलो ग्राम लागू औषध गाँजा बरामद गरिएको छ भने सर्लाहीको ईश्वरपुर नगरपालिका-९ खोरीयाटोलमा ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन् ।
बारा: १६ किलो लागू औषध गाँजा बरामद
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोल्हवी र प्रहरी चौकी बारागनियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार राति कोल्हवी-५ सोनाभार क्षेत्रमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका दुई वटा मोटरसाइकललाई रोकेर तलासी लिएको थियो । सो क्रममा, मोटरसाइकल चालकहरू भाग्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
मोटरसाइकलको तलासी गर्दा प्लास्टिकको बोरामा राखिएको १६ किलो लागू औषध गाँजा फेला परेको थियो । पक्राउ परेका व्यक्तिहरूलाई कानुनी प्रक्रियामा लगिएको छ ।
सर्लाही: लागू औषधसहित दुई जना पक्राउ
सर्लाहीको ईश्वरपुर नगरपालिका-९, खोरीयाटोलमा लागू औषधसहित दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा चक्रबात गन्जौलिया बस्ने २८ वर्षीय शुभ साह र ६० वर्षीय दिलावर महतो रहेको प्रहरीले जनाएको छ । उनीहरूका साथबाट Diclofenac Sodium, Dicyclomine, Hydrochloride Capsules ३० पत्ता (प्रत्येक पत्तामा २४ क्याप्सुल) तथा Hydrochloride Syrup २ बोतल (१०० मिलिलिटर) बरामद गरिएको छ ।
लागू औषध ओसारपसार भइरहेको विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी शान्तराज कोइरालाले बताए ।