रौतहट | रौतहटमा स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको घोडासन ग्राम निवासी ३३ वर्षीय टुना दास रहेका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सोमबार दिउँसो रौतहटको बौधिमाई नगरपालिका–७, बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरी टोलीले बाराबाट रौतहटतर्फ आउँदै गरेको बीआर ०५ एएफ ३७८७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा नगद फेला पारेको थियो ।
प्रहरीका अनुसार दासको साथबाट एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान गरी कुल १० लाख रुपैयाँ बरामद भएको छ ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नगदसहित दासलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।