मधेश प्रदेशका विभिन्न जिल्लामा सोमबार बिहानैदेखि बाक्लो हुस्सु र चिसो सिरेटो चलेपछि जनजीवन प्रभावित भएको छ । बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण सडक, खेतबारी तथा आसपासका क्षेत्रको दृश्यता कम भएको छ भने सवारी आवागमनसमेत प्रभावित बनेको छ ।
सप्तरीसहित मधेश प्रदेशका अधिकांश जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लाग्दा सडकमा अगाडि रहेका सवारीसाधनसमेत स्पष्ट देख्न कठिन भएको थियो । हुस्सुसँगै चलेको चिसो हावाले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत असहज बनाएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा बिहानै काममा निस्कने सर्वसाधारण बढी प्रभावित भएका छन् ।
स्थानीयवासीले सोमबारको मौसमले पुस–माघ महिनाको झल्को दिएको बताएका छन्। बिहानको बाक्लो हुस्सु र चिसो सिरेटोका कारण वातावरण चिसो तथा ओसिलो बनेको उनीहरूको भनाइ छ ।
राजविराजबाट बिहानै विङ्गर गाडी लिएर धरानतर्फ जानुभएका चालक वीरेन्द्र यादवले बाक्लो हुस्सुका कारण सडक स्पष्ट देख्न नसकिएको बताए । उनका अनुसार अगाडिको दृश्य नदेखिने भएपछि निकै सावधानी अपनाएर सवारी चलाउनुपरेको थियो ।
हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिमसमेत बढेको उनले बताए। यस्तो अवस्थामा सवारीको गति कम गर्नुका साथै अगाडि र पछाडिका सवारीसाधनबीच सुरक्षित दूरी कायम राख्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, स्थानीय बिन्दुकुमार यादवले बाक्लो कुहिरोका कारण बाटो स्पष्ट देख्न कठिन भएको बताए । असिना पानी परेझैँ सडक भिजेको र बिहानको हुस्सुका कारण पैदल हिँड्दा शरीरसमेत ओसिलो भएको उनको अनुभव छ ।
स्थानीय वृद्ध सितावीप्रसाद साहले सोमबार बिहानको मौसमले पुस–माघ महिनाको झल्को दिएको बताए । बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावा चलेपछि वातावरण निकै चिसो र ओसिलो बनेको उनले बताए। यद्यपि, पुस–माघ महिनामा हुने शीतलहरको तुलनामा अहिले चिसो केही कम महसुस भएको उनको अनुभव छ ।
मौसममा आएको परिवर्तनले दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक, किसान, विद्यार्थी तथा बिहानै आवतजावत गर्नुपर्ने सर्वसाधारणको दिनचर्यामा समेत असर पारेको छ । विशेषगरी बिहानको समयमा लामो दूरीका सवारीसाधन, मोटरसाइकल तथा पैदलयात्रीलाई बढी समस्या हुने गरेको छ ।
बाक्लो हुस्सुका कारण सडकमा दृश्यता कम हुने भएकाले सवारी चालकले गति नियन्त्रण गरी सावधानीपूर्वक यात्रा गर्नुपर्ने देखिएको छ ।