मधेस प्रदेशको चार जिल्लाका १२ पालिकामा पुर्ण खोप लिन छुटेका बालबालिकाको पहिचानका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ ।
अमेरिकी सरकार र युनिसेफको सहयोग स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको समन्वयमा लाइफ नेपालले सञ्चालन गरेको खोप नपाएका बालबालिकासम्म पुग्न सामुदायिक सहभागिता, माग सिर्जना र डिजिटल समाधानहरुको माधयमद्धारा सामुदायिक संयन्त्र सुदृढीकरण कार्यक्रम अन्र्तगत घरदैलो कार्यक्रम सञ्चालन गरिएको लाइफ नेपालका कार्यक्रम निर्देशक लक्ष्मी साहले जानकारी दिनुभयो ।
घरदैलोमा महिला स्वास्थ्य स्वमसेविका, लाइफ नेपालका परिचालक र युवायुवतीहरुको सहभागिता रहको छ । उहाँले घरदैलोको क्रममा खोप लिन छुटेका बालबालिकाको पहिचान गरी तथ्याङ्क तयार पारेर कार्यक्रम सञ्चालन रहेको पालिकाको स्वास्थ्य शाखालाई उपलब्ध गराई भौगोलिक सूचना प्रणलीमा (जी आई एस) मा समावेश गरिने र सोही बमोजिम पूर्ण खोपका लागि खोप लिन छुटेका बालबालिकालाई स्वास्थ्यकर्मीले खोप लगाउने बताउनुभयो ।
कार्यक्रम निर्देशक साहले यसका लागि चारवटै जिल्लाका स्वास्थ्यशाखा प्रमुख, खोप फोकल पर्सन , तथ्याङ्क अधिकृत र स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई भौगोलिक सूचना प्रणालीसम्बन्धी आइतबार र सोमबार गरी दुई दिने तालिमसमेत दिइएको बताउनुभयो ।
उहाँले तालिममा जीआइएसका सहजकर्ता प्रकास अधिकारीले खोप नलगाएका बालबालिकाको पहिचान गरी उक्त प्रणलीमा तथ्याङ्क कसरी समावेश गर्ने भन्ने बारेमा तालिम दिएको र चारवटै जिल्लाका स्वास्थ्य क्षेत्रका ५० जनाको सहभागिता रहेको बताउनुभयो । तालिममा युनिसेफका बेकी प्रसाँई र लता बज्राचार्यले प्राविधिक सल्लाह दिनुभयो ।
उक्त कार्यक्रमका संयोजक मोहमद असलमका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका , मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र धनौजी गाँउपालिकामा पूर्ण खोपका लागि खोप नपाएका बालबालिकासम्म पुग्न सामुदायिक सहभागिता, माग, सिर्जना र डिजिटल समाधानहरुको माध्यमद्धारा सामुदायिक संयन्त्र सुदृढीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
त्यसैगरी, महोत्तरीको सम्सी गाँउपालिका, लोहरपट्टी नगरपालिका, बलबा नगरपालिका सर्लाहीको कविलासी नगरपालिका, हरिपुर्वा नगरपालिका, राम नगर गाँउपालिका र रौतहटको राजपुर नगरपालिका, इसनाथ नगरपालिकामा सो कार्यक्रम सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो ।
दुई दिने तालिमको अध्यक्षता गर्नुभएका मधेस प्रदेशका स्वास्थ्य निर्देशक डा. नवल किशोर झाले मधेश प्रदेशमा ९८ प्रतिशत बालबालिका पूर्णखोपको पँहुचमा रहेको भन्दै विभिन्न कारणबाट खोप लिन छुटेका दुई प्रतिशत बालबालिकालाई यस कार्यक्रममार्फत खोपको पहुँचमा ल्याउन सञ्चालन भएको कार्यक्रममा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।