त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित तथा उच्च शिक्षामा सुधार ल्याउने उद्देश्यले सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी अघि बढाइएको छ ।
यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले त्रिविका पदाधिकारीसँग छलफल गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा विश्वविद्यालयको संस्थागत पहिचान बलियो बनाउने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने तथा विद्यार्थीको शैक्षिक क्षमताका आधारमा कोटा निर्धारण गर्ने विषयमा चर्चा भएको थियो ।
त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
छलफलका क्रममा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र आवश्यक नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो ।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा. डा. भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. अञ्जना सिंह, रजिस्ट्रार सहप्राध्यापक डा. रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका विभिन्न संकायका डिनहरूको सहभागिता रहेको थियो ।
उपकुलपति प्रा. डा. थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए । उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षामन्त्रीका सल्लाहकार झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउने बताए । सम्बन्धन प्रदान गर्दा संख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने बताए ।
उनले क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम राख्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजान, कलेजहरूलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न तथा शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने धारणा राखे। साथै, त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी, मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनले जानकारी दिए ।
त्रिविमा सेमेस्टर प्रणालीको विस्तार, पाठ्यक्रम परिमार्जन र नीतिगत सुधारलाई अघि बढाउने तयारीसँगै विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने विषयले प्राथमिकता पाएको छ ।