त्रिभुवन विश्वविद्यालय (त्रिवि), शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह पहिलो सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन संकायसहित वन विज्ञान, कृषि तथा पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा नयाँ विद्यार्थी भर्नाका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।
शुक्रबार प्रकाशित सूचनाअनुसार आगामी मंसिर महिनाभित्र आवेदन फाराम वितरण तथा बुझाउने कार्य सम्पन्न गरिनेछ । त्यसैगरी, २०८३ माघ महिनादेखि स्नातकोत्तर तहको पहिलो सेमेस्टरको कक्षा सञ्चालन सुरु हुनेछ ।
निर्धारित कार्यतालिकाअनुसार शैक्षिक सत्रको अन्तिम परीक्षा २०८४ जेठ महिनामा सञ्चालन गरिनेछ भने परीक्षाको नतिजा २०८४ भदौ महिनामा प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।
विश्वविद्यालयका अनुसार स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक विद्यार्थीले आफू भर्ना हुन चाहेको प्रत्येक संकाय, अध्ययन संस्थान तथा विषयअनुसार सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्नेछ ।
आवेदन फारामसँगै विद्यार्थीले हालसालै खिचेको फोटो, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।
प्रवेश परीक्षा, भर्ना प्रक्रिया तथा अन्य विस्तृत व्यवस्थाबारे सम्बन्धित संकायका डिनको कार्यालयले निर्धारण गरेबमोजिम हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
नयाँ भर्ना कार्यक्रम सार्वजनिक भएसँगै स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आगामी शैक्षिक सत्रको तयारी गर्न बाटो खुलेको छ ।