काठमाडौं । अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडानका क्रममा तल्लो भाग (सुपर हेभी बुस्टर) लाई प्रक्षेपण टावरमा समात्ने प्रयास अन्तिम समयमा रद्द गरेको छ ।
टेक्सासको बोका चिकास्थित ‘स्टारबेस’ प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक उडेको रकेटको बुस्टरलाई पृथ्वीमा फर्किएपछि प्रक्षेपण टावरमा जडान गरिएका ‘चपस्टिक्स’ नामक यान्त्रिक हातमार्फत समात्ने स्पेसएक्सको योजना थियो । तर, जोखिम मूल्याङ्कनपछि कम्पनीले उक्त योजना रद्द गर्दै बुस्टरलाई समुद्रतर्फ मोडेको थियो । समुद्रमा खस्ने क्रममा बुस्टर आगोको ज्वालामा परिणत भएको थियो ।
बुस्टरलाई समात्न नसकिए पनि रकेटको माथिल्लो भाग अर्थात् ‘सिप’ भने आफ्नो अन्तरिक्ष यात्रा निरन्तर अघि बढाइरहेको छ । स्पेसएक्सले उक्त भागलाई समेत पृथ्वीमा फर्काएर प्रक्षेपण टावरमार्फत समात्ने वा समुद्रमा अवतरण गराउने भन्नेबारे अन्तिम निर्णय गर्ने जनाएको छ ।
हालसम्म निर्माण गरिएको सबैभन्दा अग्लो र शक्तिशाली रकेट मानिने ४०७ फिट अग्लो स्टारशिपले टेक्सासबाट सफलतापूर्वक उडान भरेको थियो । निर्धारित योजनाअनुसार उडानको साढे ६ मिनेटपछि प्रक्षेपण टावरले सुपर हेभी बुस्टरलाई समात्नुपर्ने थियो । तर, सुरक्षा जोखिमका कारण त्यसलाई समुद्रतर्फ पठाइएको हो ।
उडानको प्रत्यक्ष प्रसारणका क्रममा स्पेसएक्सका प्रवक्ताले सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताएका थिए । नयाँ प्रविधि र परीक्षण भइरहेकाले प्रत्येक चरण सुरक्षित रूपमा सम्पन्न गर्नु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ थियो ।
अन्तरिक्षमा रहेको स्टारशिपको माथिल्लो भागले तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने स्टारलिंक सञ्जालका लागि २६ वटा भूउपग्रह तैनाथ गरिरहेको छ । उडान भरेको करिब साढे २२ घण्टापछि पृथ्वीमा फर्किनुअघि उक्त यानले पृथ्वीको १४ पटक परिक्रमा गर्ने तालिका रहेको छ ।
स्पेसएक्सले अन्तरिक्षमा यानको अवस्था र प्राविधिक अवस्थाबारे मूल्याङ्कन गरेपछि मात्रै त्यसलाई प्रक्षेपण टावरमार्फत समात्ने निर्णय गर्ने जनाएको छ । कुनै प्राविधिक समस्या देखिएमा समुद्रमा सुरक्षित अवतरण गराउने विकल्पसमेत खुला राखिएको छ ।
यसअघि स्पेसएक्सले तीनवटा परीक्षण उडानमा सुपर हेभी बुस्टरलाई सफलतापूर्वक प्रक्षेपण टावरमार्फत समातेको थियो । तर, गत सेप्टेम्बरमा पहिलोपटक पृथ्वीको कक्षमा पुगेको स्टारशिपको माथिल्लो भागलाई भने हालसम्म ‘चपस्टिक्स’ मार्फत समात्न सकिएको छैन ।
स्पेसएक्सको दीर्घकालीन लक्ष्य स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिने रकेट बनाउनु हो । यसअघि सन् २०१५ मा कम्पनीले आफ्नो ‘फाल्कन–९’ रकेटको बुस्टरलाई ठाडो रूपमा अवतरण गराएर अन्तरिक्ष प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको थियो । हाल फाल्कन–९ रकेट वर्षमा १०० पटकभन्दा बढी उडान भर्ने अवस्थामा पुगेको छ । यसको बुस्टर पुनः प्रयोग गर्न सकिने भएकाले अन्तरिक्ष प्रक्षेपणको लागतसमेत उल्लेख्य रूपमा घटेको छ ।
रोयल एरोनटिकल सोसाइटीका अध्यक्ष प्राध्यापक माल्कम म्याकडोनाल्डका अनुसार स्टारशिपलाई पूर्ण रूपमा पुनः प्रयोगयोग्य बनाउन सकिएमा अन्तरिक्ष यात्राको अर्थशास्त्रमा ठूलो परिवर्तन आउन सक्छ । उनका अनुसार एउटा सफल उडानले मात्रै पूर्ण पुनः प्रयोगयोग्यताको अवधारणा प्रमाणित नगरे पनि यसले स्टारशिपको भविष्यका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ ।
यस परीक्षणलाई अमेरिकी अन्तरिक्ष संस्था नासा र अन्तरिक्ष क्षेत्रका लगानीकर्ताहरूले पनि चासोका साथ हेरिरहेका छन् । विशेषगरी सन् २०२८ सम्ममा चन्द्रमामा मानव अवतरण गराउने नासाको महत्त्वाकांक्षी योजनाका लागि स्टारशिपको विकास महत्त्वपूर्ण मानिएको छ ।
नासाले आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा पुर्याउन स्टारशिपको माथिल्लो भागलाई चन्द्र अवतरण यान (ल्यान्डर) का रूपमा विकास गर्न स्पेसएक्ससँग सम्झौता गरेको छ ।
तर, चन्द्र अभियानका लागि स्पेसएक्स एक्लो प्रतिस्पर्धी होइन । अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ‘ब्लु ओरिजिन’ पनि आफ्नो ‘न्यू ग्लेन’ रकेट तथा चन्द्र अवतरण यानमार्फत उक्त अभियानमा सहभागी हुने तयारीमा छ ।
यी दुवै कम्पनीले नासाको आगामी ‘आर्टेमिस–३’ अभियानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उक्त अभियानअन्तर्गत ओरियन अन्तरिक्ष यानमा सवार चार अन्तरिक्ष यात्रीले स्पेसएक्स र ब्लु ओरिजिनका चन्द्र अवतरण यानसँग जोडिने (डकिङ) अभ्यास गर्ने योजना छ ।
यद्यपि, निर्धारित समयमै लक्ष्य हासिल गर्न दुवै कम्पनीले अझै महत्त्वपूर्ण प्राविधिक प्रगति गर्नुपर्ने देखिन्छ । ब्लु ओरिजिनले पनि यसअघि रकेट विस्फोटका कारण चुनौती सामना गरेको थियो । कम्पनीले आफ्नो अन्तरिक्ष कार्यक्रम पुनः सञ्चालन गर्ने समयतालिका पछाडि सारेको छ ।
यसबीच नासामाथि निर्धारित समयमै चन्द्रमामा मानव अवतरण गराउने दबाब बढ्दै गएको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानले चन्द्रमामा मानव अवतरण गराउने विषयमा अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा रहेको बताएका छन् । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सतहमा अवतरण गराउने लक्ष्य राखेको छ ।
स्टारशिपको परीक्षण र पुनः प्रयोगयोग्य रकेट निर्माणमा हुने प्रगतिले अमेरिका र चीनबीचको अन्तरिक्ष प्रतिस्पर्धा तथा भविष्यका चन्द्र अभियानको दिशा निर्धारण गर्न सक्ने देखिएको छ ।