भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल विस्फोट भएपछि आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्शाचु’ पूर्ण रूपमा बगाएको छ भने सडक तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको एक भाग भत्किएपछि यातायात अवरुद्ध भएको छ। त्यस्तै, लाआ जोड्ने सडकमा पनि क्षति पुगेको छ । पुनाखा जिल्लामा सौर्य ऊर्जाबाट सञ्चालन हुँदै आएको सिँचाइ प्रणालीसमेत बाढीले नष्ट गरेको छ। हालसम्म मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।
हिमताल विस्फोटपछि संकोश नदीमा पानीको सतह तीव्र रूपमा बढेको छ । भुटान हुँदै भारतको पश्चिम बंगाल र असम राज्यमा प्रवेश गर्ने यस नदीमा बाढीको जोखिम बढेपछि दुवै राज्यका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार पश्चिम बंगालका अलिपुरद्वार र कुचबिहार तथा असमको धुबरी क्षेत्रमा विशेष निगरानी बढाइएको छ । सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै पश्चिम बंगालको अलिपुरद्वार क्षेत्रका १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थान तथा राहत शिविरमा सारिएको छ ।
स्थानीय प्रशासनले साइरन बजाएर सर्वसाधारणलाई सचेत गराइरहेको छ। सम्भावित जोखिम व्यवस्थापन तथा उद्धारका लागि राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र आपत्कालीन व्यवस्थापन टोली परिचालन गरिएको छ ।
प्राप्त जानकारीअनुसार बिहीबार राति करिब ८ः१५ बजे सिन्ताफु हिमतालबाट अचानक पानी बाहिरिएर बाढी आएको थियो। उक्त हिमताल भुटानका १७ वटा अति संवेदनशील हिमतालमध्ये एक मानिन्छ। हिमताल विस्फोटको कारण, बाढीको मात्रा र भौतिक क्षतिको विस्तृत विवरण संकलन तथा मूल्यांकन भइरहेको छ ।
प्रारम्भिक चेतावनीअनुसार हिमतालबाट निस्किएको बाढी ६ देखि ८ घण्टाभित्र भारत–भुटान सीमासम्म पुग्न सक्ने आकलन गरिएको थियो । उक्त बाढी मोछु नदी हुँदै संकोश नदीमा मिसिएर भारततर्फ बग्ने भएकाले तल्लो तटीय क्षेत्रमा जोखिम बढेको हो ।
भुटानमा हिमताल विस्फोटपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतका सीमावर्ती क्षेत्रमा प्रशासनले सतर्कता बढाएको छ ।