रुसको कब्जामा रहेको युक्रेनको दक्षिणी सहर ओलेश्कीबाट उद्धार गरिएका सयौँ नागरिक युद्धविरामको सहमतिपछि स्वदेश फर्किएका छन् । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मध्यस्थतामा भएको पहलपछि उनीहरूलाई सुरक्षित रूपमा युक्रेन ल्याइएको हो ।
उद्धार गरिएका नागरिकमध्ये ५४ वर्षीय दिमित्रो र उनकी पत्नी लारिसाको पुनर्मिलनले सबैको ध्यान खिचेको छ । दिमित्रोले १ हजार ७११ दिनपछि आफ्नी पत्नीलाई भेटेका हुन् । लामो समयदेखि पत्नीको प्रतीक्षामा रहेका उनी युक्रेन–बेलारुस सीमामा उद्धार गरिएका नागरिक बोकेको बस कुरिरहेका थिए ।
शनिबार बसबाट लारिसा ओर्लिएपछि दिमित्रोले उनलाई अँगालोमा बाँध्दै पटकपटक चुम्बन गरे । लामो समयपछि भएको पुनर्मिलनमा दुवै भावुक बनेका थिए । कब्जाका क्रममा लारिसाले आफ्नो शरीरको करिब एक तिहाइ तौल गुमाएकी थिइन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्धार अभियानमा सहयोग गरेको भन्दै मेलानिया ट्रम्पलाई धन्यवाद दिएका छन् । उनले विश्वको ध्यान पुगेमा मानिसहरूको जीवन बचाउन सकिने बताएका छन् ।
रुसी कब्जामा रहेको ओलेश्कीमा पछिल्ला वर्षहरूमा खाद्यान्न, औषधि, विद्युत् र ग्यासको चरम अभाव भएको थियो। कतिपय नागरिक घाँस, झारपात, तरकारी र घरमा बाँकी रहेका डिब्बाबन्द खानेकुरा खाएर जीवन धान्न बाध्य भएका थिए । उद्धार गरिएकामध्ये केही कुपोषण, घाइते तथा शारीरिक अशक्तताबाट प्रभावित छन् ।
उद्धार अभियानमा घरपालुवा जनावरलाई समेत समावेश गरिएको थियो। जोखिमपूर्ण यात्रा र विभिन्न चरणको समन्वयपछि नागरिकलाई युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रमा ल्याइएको हो ।
यसैबीच, तीन वर्षदेखि छुट्टिएका अर्का एक परिवारको पनि पुनर्मिलन भएको छ। ओलेश्कीमै बसेका मिखाइलो पाली आफ्नी पत्नी र छोरीहरूसँग पुनः भेटिएका हुन् ।
यद्यपि ओलेश्कीका सबै नागरिक स्वदेश फर्किएका छैनन्। केहीले रुसी नियन्त्रणमै बस्ने र केहीले रुस जाने निर्णय गरेका छन् । युद्धका कारण लामो समयदेखि विस्थापन र अभावमा जीवन बिताइरहेका नागरिकको पुनर्मिलनले मानवीय संकटबीच आशाको सन्देश दिएको छ ।