अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १ हजार ५०० किलोग्राम तौलको अन्तरिक्ष वेधशाला २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।
नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष वेधशाला नोभेम्बर ४ मा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने अनुमान गरिएको छ । नासाका अनुसार यसको सम्भावित पुनः प्रवेश क्षेत्र २०.६ डिग्री दक्षिणदेखि २०.६ डिग्री उत्तर अक्षांशसम्म फैलिएको छ ।
यस अक्षांशीय क्षेत्रमा भारतका मुम्बई, हैदराबाद, बेङ्गलुरु र चेन्नईलगायत सहर पनि पर्ने भएकाले ती क्षेत्रमा अन्तरिक्ष यानका अवशेष खस्न सक्ने सैद्धान्तिक सम्भावना रहेको छ । यद्यपि, यी सहर सम्भावित क्षेत्रभित्र पर्दैमा त्यहीँ अवशेष खस्ने निश्चित भने छैन ।
नासाका अन्तरिक्ष मिसनका प्रमुख वैज्ञानिक ब्राड सेन्कोका अनुसार अफ्रिका, अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया तथा मध्य र दक्षिण अमेरिकाका केही भूभाग सम्भावित पुनः प्रवेश क्षेत्रभित्र पर्छन् ।
समुद्रमा खस्ने सम्भावना बढी
वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा उत्पन्न हुने अत्यधिक तापक्रमका कारण अन्तरिक्ष वेधशालाको अधिकांश भाग जलेर नष्ट हुनेछ । तर, केही बलिया तथा बाक्ला उपकरणका टुक्रा भने पृथ्वीको सतहसम्म आइपुग्न सक्छन् ।
डरहम विश्वविद्यालयका खगोलभौतिकशास्त्री जोनाथन म्याकडोवेलले करिब १ हजार ५०० किलोग्राम तौलको अन्तरिक्ष यानमध्ये १०० किलोग्रामभन्दा बढी भाग वायुमण्डलमा पुनः प्रवेशपछि बाँकी रहे आफूलाई आश्चर्य लाग्ने बताएका छन् ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका खगोलभौतिकशास्त्री ब्राड टकरका अनुसार पृथ्वीको करिब ७० प्रतिशत सतह महासागरले ढाकेको छ । त्यसैले सांख्यिकीय हिसाबले अन्तरिक्ष यानका अवशेष समुद्रमा खस्ने सम्भावना बढी हुन्छ ।
वैज्ञानिकहरूले यसबाट कुनै व्यक्तिलाई चोटपटक लाग्ने वा भौतिक संरचनामा ठूलो क्षति पुग्ने सम्भावना निकै कम रहेको बताएका छन् ।
भारत पनि गर्दैछ अन्तरिक्षीय वस्तुको निगरानी
भारतको भौगोलिक अवस्थिति सम्भावित पुनः प्रवेश क्षेत्रभित्र पर्ने भएकाले अन्तरिक्षबाट फर्किने वस्तुको निगरानीलाई चासोका साथ हेरिएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले श्रीहरिकोटास्थित बहुवस्तु अनुगमन राडारमार्फत उपग्रह, रकेटका अवशेष तथा अन्य अन्तरिक्षीय वस्तुको निगरानी गर्दै आएको छ ।
यद्यपि, स्विफ्ट अन्तरिक्ष वेधशालाको पुनः प्रवेशलाई इसरोले पनि निगरानी गरिरहेको छ वा छैन भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
२२ वर्षसम्म गर्यो ब्रह्माण्डको अध्ययन
सन् २००४ नोभेम्बर २० मा प्रक्षेपण गरिएको यस अन्तरिक्ष वेधशालाको सुरुवाती नाम ‘स्विफ्ट गामा–रे बर्स्ट एक्सप्लोरर’ थियो। सुरुमा दुई वर्षसम्म सञ्चालन गर्ने लक्ष्य राखिएको यो मिसनले करिब २२ वर्ष अन्तरिक्षमा रहेर ब्रह्माण्डका विभिन्न घटनाको अध्ययन गरेको थियो ।
यसको मुख्य उद्देश्य गामा–रे विस्फोटलगायत ब्रह्माण्डका अत्यधिक ऊर्जायुक्त घटनाको अध्ययन गर्नु थियो। नासाका अनुसार आफ्नो कार्यकालमा यसले २ हजारभन्दा बढी गामा–रे विस्फोट र १ हजार ४०० भन्दा बढी सुपरनोभाको अवलोकन गरेको थियो। यसले ब्ल्याक होल, सुपरनोभा तथा अन्य खगोलीय घटनाबारे महत्त्वपूर्ण तथ्य संकलन गरेको छ ।
सन् २०२६ अक्टोबर २० मा यसले अन्तिम वैज्ञानिक अवलोकन गरेको थियो। क्षमता क्रमशः घट्दै गएपछि अब यो पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने अवस्थामा पुगेको हो ।
नासा र अमेरिकी स्पेस फोर्सले अन्तरिक्ष वेधशालाको पुनः प्रवेशसम्बन्धी अवस्थाको निगरानी गरिरहेका छन् ।