बारा । चाडपर्वका समयमा बजार अनुगमन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयअन्तर्गतको बजार अनुगमन समिति निष्क्रिय हुँदा बाराका अधिकांश पसल मूल्यसूचीविहीन अवस्थामा सञ्चालन भइरहेका छन् । प्रभावकारी अनुगमनको अभावमा व्यवसायीले आफूखुसी मूल्य निर्धारण गरी दैनिक उपभोग्य वस्तु बिक्री गर्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
जिल्लाका १६ वटै स्थानीय तहका बजार क्षेत्रमा सञ्चालित किराना पसलदेखि थोक तथा खुद्रा व्यवसायसम्म मूल्यसूची नराखी कारोबार भइरहेको पाइएको छ । विशेषगरी चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने समयमा समेत मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन हुन नसकेको उपभोक्ताको भनाइ छ ।
बाराका नागरिक समाजका अध्यक्ष उमेशलाल दासका अनुसार बजारमा मूल्यसूची नहुँदा उपभोक्ताले आफूले खरिद गर्ने सामानको वास्तविक मूल्यबारे जानकारी पाउन सकेका छैनन् । व्यवसायीले उपभोक्ताको मागअनुसार आफूखुसी मूल्य बढाएर सामान बिक्री गर्दा सर्वसाधारण आर्थिक मारमा पर्ने गरेको उनले बताए ।
दैनिक उपभोग्य खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको मूल्यमा एकरूपता कायम गर्न र उपभोक्तालाई ठगीबाट जोगाउन प्रत्येक पसलमा मूल्यसूची अनिवार्य राख्नुपर्ने उनको माग छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा प्रचलित कानुनी व्यवस्थाले व्यवसायीलाई वस्तुको मूल्य, गुणस्तर र कारोबारसम्बन्धी विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी राख्नुपर्ने व्यवस्था गरेको छ । तर, कानुनी प्रावधान हुँदाहुँदै पनि बाराका अधिकांश व्यवसायीले त्यसको पालना नगरेको उपभोक्ता रामबाबु साहको गुनासो छ ।
उनले विशेषगरी चाडपर्वका समयमा किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
त्यस्तै, उपभोक्ता मुकेशप्रसाद यादवले बजारमा नियमित अनुगमन नहुँदा व्यवसायीले त्यसको फाइदा उठाउँदै खाद्यान्नलगायतका सामग्रीमा मनोमानी मूल्य लिने गरेको बताए ।
उनका अनुसार पसलमा मूल्यसूची राखिए उपभोक्ताले सामान खरिद गर्नुअघि नै मूल्यबारे जानकारी पाउने र अनावश्यक आर्थिक भारबाट जोगिन सक्नेछन् । उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने व्यवसायीमाथि कारबाहीको व्यवस्था भए पनि बारामा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको गुनासो छ ।
मूल्यसूची नराख्ने व्यवसायीमाथि हालसम्म मुद्दा दर्ता वा कानुनी कारबाही भएको जानकारी आफूलाई नभएको पनि यादवले बताए ।
यता, जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले दसैँअघि बजार अनुगमन गरिएको जानकारी दिएका छन् । अहिले चाडपर्व मनाउन कर्मचारी बिदामा घर गएकाले अनुगमन हुन नसकेको उनले बताए ।
बजार अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय नै निष्क्रिय हुँदा उपभोक्ता अधिकार संरक्षणको विषय प्रभावकारी हुन सकेको छैन । कानुनले अनिवार्य गरेको मूल्यसूची राख्ने व्यवस्था कार्यान्वयन नहुँदा उपभोक्ता व्यवसायीको मनोमानी मूल्य निर्धारणको जोखिममा परेका छन् ।