जनकपुरधाम । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ ।
भारतीय सञ्चारमाध्यम *द हिन्दू*का अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो । प्रस्तावित रेल सेवाले नेपाल र भारतका दुई प्रमुख धार्मिक तथा सांस्कृतिक स्थललाई रेलमार्गबाट जोड्नेछ ।
करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ । उक्त रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै सञ्चालन हुनेछ ।
निर्धारित मार्गअनुसार रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर हुँदै अयोध्या धामसम्म यात्रा गर्नेछ ।
भारतीय रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टोनमेन्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी साप्ताहिक सेवा सञ्चालन गरिनेछ ।
मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै यी दुई धार्मिक महत्त्वका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ ।
भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले दुवै देशका नागरिक तथा धार्मिक पर्यटकबीचको सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ ।
यसअघि गत जुन महिनामा पनि भारत र नेपालबीच जनकपुर–अयोध्या खण्डसहित सीमापार रेल सम्पर्क विस्तार तथा यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा छलफल भएको *द हिन्दू*ले जनाएको छ ।
नयाँ रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन, तीर्थयात्रा तथा दुई देशबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।