काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा परामर्श तथा छलफल गर्न निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई औपचारिक रूपमा आमन्त्रण गरेको छ ।
निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार आगामी मंसिर ४ गते राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ । उक्त छलफलमा स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा मिति निर्धारणका विषयमा परामर्श हुने अपेक्षा गरिएको छ ।
हाल प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् ।
यसैगरी, प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता नपाए पनि जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चा पनि छलफलका लागि आमन्त्रित राजनीतिक दलमध्ये रहेका छन् ।
स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरूको पदावधि आगामी वैशाख महिनामा समाप्त हुँदैछ । त्यसैले आगामी निर्वाचनको तयारी र मिति निर्धारणलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलहरूसँग परामर्श अघि बढाएको हो ।
यसअघि छठ पर्व मनाउन सर्लाही पुगेका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि स्थानीय नेता तथा कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा निर्वाचन आयोगले मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको जानकारी गराएका थिए ।
आयोग र राजनीतिक दलबीच हुने छलफलले स्थानीय तहको आगामी निर्वाचनको मिति तथा तयारीबारे थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ ।