जनकपुरधाम । सङ्घीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेश सरकारद्वारा सञ्चालित विभिन्न स्वास्थ्य निकायको अवलोकन गर्नुभएको छ । उहाँले जनकपुरधामस्थित प्रादेशिक अस्पताल, रक्तसञ्चार सेवा केन्द्र र औषधि आपूर्ति कार्यालयको निरीक्षण गर्नुभएको हो ।
अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले स्वास्थ्य सेवाको गुणस्तर र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले निरीक्षण गरिएको बताउनुभयो। प्रादेशिक अस्पतालमा सेवा प्रवाह र सरसफाइमा केही कमजोरी देखिएको उल्लेख गर्दै उहाँले अस्पताल प्रशासनसँग यस विषयमा छलफल गरिएको जानकारी दिनुभयो ।
मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, अस्पताल व्यवस्थापनले पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँका अनुसार प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर सेवा विस्तार गर्ने तयारी भइरहेको छ । हाल अस्पतालमा १० वटा आईसीयू शय्या सञ्चालनमा रहेकामा थप २० वटा शय्या विस्तार गर्ने योजना रहेको छ। सेवा विस्तार भएपछि गम्भीर प्रकृतिका बिरामीको उपचारमा सहजता आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालमा उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा दुर्व्यवहारका घटनाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री मेहताले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्था सुधार गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो। स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐन निर्माणको विषय सदनसम्म पुगिसकेको उल्लेख गर्दै उहाँले कानुन बनेपछि स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक जामुनप्रसाद सिंहले मन्त्री मेहताले अस्पतालको आकस्मिक कक्ष, प्रसूति कक्ष र प्रयोगशालाको अवलोकन गर्नुभएको जानकारी दिनुभयो । उहाँले अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्ने विषयमा समेत छलफल भएको बताउनुभयो ।
निर्देशक सिंहका अनुसार अस्पताल परिसरभित्र इन्डोर भवन निर्माणका लागि पनि प्रस्ताव गरिएको छ ।
अवलोकनका क्रममा मन्त्री मेहतासँगै धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य राजकिशोर महतोको समेत सहभागिता रहेको थियो ।