सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका छन् ।
गाउँसभा सम्पन्न भएको माइन्युटमा किर्ते हस्ताक्षर गरेको आरोपमा अध्यक्ष यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार किर्ते गरेको भन्दै उजुरी परेपछि अध्यक्ष यादवलाई पक्राउ गरिएको हो । उनलाई मंगलबार साँझ बसबरियाबाटै पक्राउ गरिएको डीएसपी गौतमले जानकारी दिए ।
डीएसपी गौतमले अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर घटनाबारे थप सोधपुछ तथा अनुसन्धान भइरहेको बताए ।
बसबरिया गाउँपालिकामा गाउँसभाबाट बजेट पारित गर्ने विषयलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको थियो । गाउँपालिका अध्यक्ष यादवले भने बजेट सर्वसम्मत रूपमा पारित भएको दाबी गर्दै आएका थिए ।
गाउँसभा सम्पन्न भएको माइन्युटमा हस्ताक्षर किर्ते गरिएको भन्ने आरोपबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।