रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले ९ एमएमका २७ थान गोली बरामद गरेका छन् ।
गौर नगरपालिका–१ कानुपट्टीस्थित सीमा क्षेत्रबाट मंगलबार सुरक्षाकर्मीको टोलीले उक्त गोली बरामद गरेको हो ।
सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त टोलीले सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गस्तीमा रहेका सुरक्षाकर्मीलाई देख्नासाथ एक युवकले झोला फ्याँकेर फरार भएका थिए । सुरक्षाकर्मीले उक्त सेतो प्लास्टिकको झोला जाँच गर्दा ९ एमएम राउन्डजस्तो देखिने २७ थान गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।
बरामद गरिएका गोली कसले र कुन प्रयोजनका लागि ल्याएको हो भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी शाहीले बताए ।