सिरहाको मिर्चैयामा मोटरसाइकललाई ठक्कर दिएर फरार भएको टिपर प्रहरीले दुई सातापछि फेला पारेको छ । प्रहरीले दुर्घटनामा संलग्न टिपरसहित त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।
मिर्चैया नगरपालिका–७ स्थित छघरेमा दुई साताअघि भएको दुर्घटनामा एक युवकको मृत्यु भएको थियो भने अर्का युवक गम्भीर घाइते भएका थिए ।
गत कात्तिक २० गते राति करिब ११ बजे मधेश प्रदेश २–०१–००२ प २६५३ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएर फरार भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मिर्चैया नगरपालिका–७ का १७ वर्षीय सुरजकुमार साहको उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलको पछाडि सवार २१ वर्षीय प्रभाकर मण्डल पनि दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको काठमाडौंमा उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले गरेको अनुसन्धानका क्रममा ना.८ ख ५९५४ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको खुलेको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले राजमार्ग खण्डका विभिन्न स्थानमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज तथा अन्य प्रमाणहरूको विश्लेषण गरी दुर्घटनामा संलग्न टिपर पत्ता लगाएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले जानकारी दिए ।
प्रहरीले टिपरसहित त्यसका चालक सिन्धुलीको फिक्कल गाउँपालिका–७ का २६ वर्षीय सोमबहादुर दमाईलाई पक्राउ गरेको छ ।
पक्राउ परेका चालकलाई थप अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरिएको डीएसपी पालले बताए ।