सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल भएर मङ्सिरको तेस्रो साताबाट यातायातका साधन सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
मङ्सिरको पहिलो साताबाटै यातायातको साधन सञ्चालन गर्ने तयारी भइरहे पनि पुलमुनिबाट पानी बगाउन धार परिवर्तन गर्ने काममा थप समय लाग्ने भएकोले मङ्सिरको तेस्रो सत्ताबाट मात्रै पुल भएर यातायातको साधन सञ्चालनमा आउने हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले जनाएको छ । कमला नदीको पुलमा एक्सपान्सन, खोलाको प्यानालाइजेसन र रेलिङको काम पूरा भई पूर्व किनारा सिराहातर्फबाट बग्दै गरेको पानीलाई धार परिवर्ततन गरी पुलमुनिबाट बगाउने कार्यमा एक सातादेखि निरन्तर काम भइरहेको जनाइएको छ । काम पूरा हुनेबित्तिकै पुल सञ्चालनको तयारी रहेको योजना कार्यालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो ।
उहाँका अनुसार दीपावली र छठपर्वमा कामदार घर गएर काम सुस्त भएको र खोलामा पानीको बहाब बढेकोले धार परिवर्तन गरी पुलमुनि भएर पानी बगाउन केही बढी समय लागेको छ । पुल भएर यातायात सञ्चालनमा ल्याउने लक्ष्यका साथ कार्यलाई गति दिनुका साथै धार परिवर्तन गराउन बाँस र जस्तापाताको प्रयोगसमेत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो सत्तामा मान्छे र मोटरसाइकलले पुल प्रयोग गर्ने र तेस्रो सातादेखि सबै सवारीसाधन चलाउने गरी तयारी भइरहेकोले केही थप समय चाहिएको छ ।” मङ्सिर २ गते भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले उद्घाटन गर्ने कार्यक्रम तय थियो । धार परिवर्तन गराउन थप समय लागेकोले मङ्सिरको तेस्रो साताका लागि समय सारिएको छ ।”


कमला नदीको पुल निर्माण डेढ दशकदेखि रुग्ण अवस्थामा थियो । यस वर्ष पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २५ करोड विनियोजन गरेपछि निर्माण कार्यले गति लिएको हो । पुल निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल र प्रधानमन्त्री वालेन्द्र शाहले समेत चासो लिएको सांसद बब्लु गुप्ताले बताउनुभयो । पप्पु–लुम्बिनी बिल्डर्सले पुल तयार गरेर उद्घाटनका लागि गृहकार्य गरिरहँदा २०७८ असार १७ गते आएको बाढीले पुलको पूर्व र पश्चिमको पाया भासिएपछि पुल रुग्ण अवस्थामा पुगेको थियो ।