सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका–९ निवासी ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२, फूलपरासीबाट अपहरण गरिएको थियो ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार बरहथवा नगरपालिका–५ निवासी ३१ वर्षीय सन्तोष कुमार महतोसहित ४/५ जनाको समूह दुईवटा मोटरसाइकलमा आएर रायलाई कुटपिट गर्दै अपहरण गरेको थियो । उनीहरूले रायलाई पिकअप गाडीमा राखेर बरहथवातर्फ लगेका थिए ।
घटनाबारे रायका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका–५ निवासी राजकुमार महतोको घरमा रायलाई कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा फेला पारेको थियो । प्रहरीले उनलाई सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न रहेको आरोपमा सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी, घटनामा संलग्न अन्य व्यक्तिहरूलाई सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ५४ वर्षीय विशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन् ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा वैदेशिक रोजगारीसम्बन्धी विवाद र सोही विषयको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले रायको अपहरण गरिएको खुलेको छ । अपहरणकारीहरूले फिरौती रकमसमेत माग गरेको र फिरौती रकम तिर्न जाँदा तीन लाख रुपैयाँ तथा गरगहना लुटिएको भन्दै गलत सूचना दिएर घटनालाई अन्यत्र मोड्ने प्रयास गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।