होली पर्वको अवसरमा भएको विवादले उग्र रूप लिएपछि जनकपुरधाम उपमहानगरपालिका–23 विन्धिमा एक युवकको मृत्यु भएको छ ।
होली खेल्ने विषयमा भएको भनाभनपछि सोही स्थानका धर्मेन्द्र महतोले चक्कु प्रहार गर्दा १८ वर्षीय आशु यादवको ज्यान गएको हो । प्रहरीका अनुसार, अभियुक्त महतोले यादवको छाती, पेट र ढाडमा चक्कु प्रहार गरेका थिए ।गम्भीर घाइते यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइए पनि शनिबार राति उनको मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
आक्रमणमा प्रयोग गरिएको चक्कुसहित धर्मेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले उनलाई हिरासतमा राखेर थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रमुख तिवारीले बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहेको जनाएको छ । घटनापछि स्थानीयहरू त्रसित बनेका छन् ।