मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले सप्तरी सदरमुकाम राजविराजस्थित विभिन्न निजी अस्पतालहरुको अनुगमन गरेका छन् ।
मुख्यमन्त्री सिंहले राजविराजका ७ वटा निजी अस्पतालको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा दुई अस्पताल नियमविपरीत सञ्चालन भइरहेको भेटिएपछि तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिएर पनि शय्यासहितको इमेजिङ तथा शल्यक्रियासम्बन्धी सेवा दिइरहेको पाइएको छ । यस्ता सेवा सञ्चालन गर्न प्रदेश सरकारबाट पोलिक्लिनिकका रूपमा सेवा सञ्चालन अनुमतिपत्र लिनुपर्ने व्यवस्था भए पनि उक्त क्लिनिकले अनुमति नलिएको भेटिएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको छ । त्यस्तै, भारती इमेजिङ सेन्टरसँग कुनै पनि सेवा सञ्चालन अनुमतिपत्र नरहेको पाइएपछि उक्त अस्पताललाई पनि बन्द गर्न आदेश दिइएको छ ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष कुमार ठाकुरका अनुसार अन्य पाँच अस्पताललाई आवश्यक सुधार गर्न निर्देशन दिइएको छ । स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेको अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई मापदण्ड पूरा गर्न दुई महिनाको समय दिइएको छ । त्यस्तै, ५० शय्याको सेवा सञ्चालन अनुमति प्राप्त युनिक सिटी अस्पताललाई पनि सेवा नवीकरण गर्न दुई महिनाभित्र प्रक्रिया पूरा गर्न भनिएको छ ।
यसैगरी, दुई सय शय्याको छिन्नमस्ता अस्पतालको सेवा सन्तोषजनक भए पनि सरसफाइ व्यवस्थापनमा थप सुधार गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंहले अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले सेवाको गुणस्तर कायम राख्न आवश्यक कानुनी प्रावधान पूरा गर्नुपर्ने बताएका छन् । उनले अनुगमन निरन्तर गरिने र स्वास्थ्य सेवा क्षेत्रलाई व्यवस्थित बनाउन कडाइ गरिने बताएका छन् ।