पर्साको वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दै गएको छ । लामखुट्टेको अत्यधिक वृद्धिका कारण स्थानीय बासिन्दा हैरान भएका छन् । लामखुट्टेको टोकाइले दैनिक जनजीवन प्रभावित भइरहँदा पनि नियन्त्रणका लागि महानगरपालिकाले प्रभावकारी कदम नचालेको स्थानीयको आरोप छ ।
स्थानीयका अनुसार साँझ पर्नेबित्तिकै घरभित्र र बाहिर लामखुट्टेको संख्या अत्यधिक बढ्ने गरेको छ । लामखुट्टेका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणलाई बस्नसमेत समस्या भइरहेको उनीहरूको गुनासो छ ।
लामखुट्टेको प्रकोप नियन्त्रण गर्न नियमित रूपमा औषधि छर्किने तथा सरसफाइमा ध्यान दिनुपर्ने भए पनि महानगरपालिकाले यसतर्फ बेवास्ता गरेको स्थानीयको आरोप छ । लामखुट्टे नियन्त्रणका लागि सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अपेक्षित पहल हुन नसकेको उनीहरूको भनाइ छ ।
स्थानीयले लामखुट्टेको टोकाइबाट डेंगु, मलेरिया लगायतका रोग फैलिन सक्ने जोखिमसमेत औँल्याउँदै तत्काल औषधि छर्किने अभियान सञ्चालन गर्न महानगरपालिकासँग माग गरेका छन् ।
विशेषगरी पानी जम्ने स्थान, नाला तथा फोहोर व्यवस्थापनमा ध्यान नदिँदा लामखुट्टेको प्रजनन बढ्न सक्ने भन्दै स्थानीयले नियमित सरसफाइ र प्रभावकारी नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
लामखुट्टेको प्रकोप बढ्दै जाँदा महानगरपालिकाले नियन्त्रणका लागि कहिले र कस्तो कदम चाल्छ भन्ने प्रश्न स्थानीयले उठाएका छन् ।