भगवान् रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट प्रस्थान गरेको रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम रेलवे स्टेसनमा आइपुगेको हो ।
रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्तित्व, भारतीय रेलवेका अधिकारी तथा विभिन्न क्षेत्रका गरी करिब एक हजार एक सय अतिथि सहभागी रहेका छन् । जनकपुरधाम आइपुगेका अतिथिलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले स्वागत गर्नुभयो ।
अतिथिको स्वागतका लागि जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार जनकपुरधाम आइपुगेका अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको छ ।
उहाँका अनुसार रेल जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिनेछ । भ्रमण तथा स्वागत कार्यक्रम सम्पन्न भएपछि अतिथिसहितको रेल पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ ।
अयोध्या र जनकपुरधामबीच रहेको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन गरिएको यस रेलयात्रालाई दुवै देशबीचको धार्मिक पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ ।