सप्तरीका अग्निसाइर कृष्णासवरन र रुपनी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट दुई युवक घाइते भएका छन् । मंगलबार बिहान गाउँ तथा खेतबारीमा पसेका हात्तीले घर, गोठ र अन्नबालीमा समेत व्यापक क्षति पुर्याएका छन् ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ स्थित गुम्बा टोलमा खेतमा धान खाइरहेको हात्ती धपाउन पुगेका ३५ वर्षीय गजेन्द्र साह र रुपनी गाउँपालिका–६ मा गाउँ पसेका हात्ती लखेट्न पुगेका ४७ वर्षीय शिवशंकर यादव आक्रमणमा परेका हुन् ।
हात्तीको आक्रमणबाट साहको हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको वडाध्यक्ष पशुपतिप्रसाद चौधरीले जानकारी दिए । हात्तीको आक्रमणपछि अचेत अवस्थामा खेतमै लडेका साहलाई स्थानीयले उद्धार गरी गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई छिन्नमस्ता अस्पताल, राजविराज पठाइएको वडाध्यक्ष चौधरीले बताए ।
हात्तीले गुम्बा टोलकी ७३ वर्षीया दशनी देवीको घरसमेत तोडफोड गरेको छ । घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सामग्रीमा क्षति पुगेको छ । हात्तीले घर तोडफोड गरी खाद्यान्न खाएको र फर्निचर पूर्ण रूपमा नष्ट गरेको भन्दै दशनी देवीले १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइन् । हात्तीले घर तोड्न थालेपछि घरभित्र सुतिरहेकी सात वर्षीया नातिनी आकृतिलाई जसोतसो जोगाएको उनले बताइन् ।
यस्तै, रुपनी गाउँपालिका–६ का यादवको घुँडा र हातमा चोट लागेको छ । उक्त क्षेत्रमा हात्तीले शुभलाल यादवको धानबाली खाएर क्षति पुर्याएको छ भने स्थानीय शैलेन्द्रकुमार यादवको खेतमा लगाइएको बालीसमेत नष्ट गरेको छ ।
हात्तीले ज्ञानबहादुर थापा मगरको तीनकोठे घर, चन्द्रबहादुर पोखरेलको घर तथा घरभित्र रहेका दराज र भाँडाकुँडासमेत तोडफोड गरेको छ । त्यसैगरी ज्ञानबहादुर आले, प्रेम लायो, लालबहादुर राई, मिरा तामाङ मगर र तनुकलाल चौधरीका घर तथा दिलकुमारी चौधरी र सूर्यनारायण महतोका गोठमा समेत क्षति पुर्याएको छ ।
हात्तीको आक्रमणबाट घर तथा गोठमा रहेका खाद्यान्न, लत्ताकपडा र विद्युतीय उपकरणसमेत नष्ट हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको वडासदस्य सूर्यनारायण मेहताले जानकारी दिए । उनका अनुसार हात्तीले सयौँ किसानले लगाएको धान, कोदो, केरा तथा तरकारी बालीमा समेत क्षति पुर्याएको छ । हात्तीले भिक्षु कुटीमा पनि तोडफोड गरेको जनाइएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत मनोज ठाकुरका अनुसार हात्तीलाई नियन्त्रणमा लिएर कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ धपाउने प्रयास भइरहेको छ । त्यसका लागि ड्रोनमार्फत निगरानीसमेत गरिँदै आएको उनले बताए ।
‘हामी पनि केही सातादेखि प्रयासमै छौँ । तर, कोशी नदीमा पानीको बहाव बढी रहेका कारण र हात्तीको बथानमा छावा पनि रहेकाले हात्तीले नदी पार गरेका छैनन्,’ ठाकुरले भने, ‘२५ देखि ३० वटासम्म हात्ती रहेकाले पनि उनीहरूलाई धपाउन कठिन भइरहेको छ ।’
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जंगली हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि प्राकृतिक उपाय अपनाएर धपाउने प्रयास भइरहेको बताए । हात्तीले निरन्तर क्षति पुर्याइरहेकाले बस्ती आसपास घेराबेरा आवश्यक देखिएको उनको भनाइ छ ।
यसका लागि प्रदेश सरकारलाई पत्राचार गरिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए । हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय सरकारसँग पनि समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।