रौतहटमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाएको आरोपमा प्रहरीले दुई चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
सवारीसाधनको कागजात जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेको फेला परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा दुवै चालकले प्रहरीसँग विवाद गर्नुका साथै अभद्र व्यवहार गरेको आरोप छ । सोही आरोपमा जिल्ला प्रशासन कार्यालय गौरबाट दुवै जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार अबेर म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पहिलो घटना मंसिर ४ गते चन्द्रपुर नगरपालिका–४ जंगलटोलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा फेला पारेको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ज ०१४८ नम्बरको यात्रुवाहक विद्युतीय भ्यानलाई जाँचका लागि रोक्दा चालक चन्द्रपुर नगरपालिका–६ मोतियाहीका चन्दु चौधरीले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । सवारीसाधनको कागजात माग गर्दा उनले ड्युटीमा खटिएका प्रहरीसँग विवाद गर्दै अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ ।
त्यस्तै, मंसिर ६ गते बिहान चन्द्रपुर नगरपालिका–६ बजारटोलस्थित चन्द्रनिगाहपुर–गौर सडकखण्डमा अर्को घटना भएको थियो । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको माउन्ट एभरेस्ट विद्यालय, चन्द्रनिगाहपुरको विद्यार्थी बोकेको प्रदेश ०२–००१ क १४४६ नम्बरको बसलाई प्रहरीले जाँचका लागि रोकेको थियो ।
उक्त बसका चालक गुजरा नगरपालिका–२ हरिहरपुरका मिलन जिम्बाले पनि मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । कागजात जाँचका क्रममा उनले समेत प्रहरी टोलीसँग विवाद गर्दै अभद्र व्यवहार गरेको आरोप छ ।
प्रहरीका अनुसार दुवै चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरबाट सात दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।